नेपाली फिल्म निर्माणको इतिहासले ६ दशक पार गरेको छ । बिसं २०२१,असोज २२ गते प्रदर्शन भएको पहिलो फिल्म ‘आमा’ बाट हिसाव गर्दा निर्माण कार्यको उमेर ६१ बर्षमा टेकेको छ । यात्रा ६१ बर्ष लामो भइसके तापनि मौलिकता र गुणस्तरियताको मुल्यांकनमा भने नेपाली फिल्म अहिलेसम्म बच्चा अबस्थामै रहेको आमप्रतिक्रिया सुन्नमा आउने गर्दछ ।
आफ्नो मौलिकता भन्दा बिदेशी फिल्मबाट प्राभावित तथा सिधा चोरी गरी नेपाली भाषामा निर्माण गर्नाले नेपाली फिल्मप्रति दर्शकको जति धेरै आकर्षण र बिश्वास हुनुपर्ने हो,त्यो भने हुन सकेको छैन । यद्यपी,पछिल्लो दशकमा निर्माण भएका केही फिल्मले भने दर्शकमा क्रमश बिश्वासको वातावरण निर्माण गर्दै गइरहेको पाइन्छ । तर यतिमै सन्तुष्टि मानीहाल्नुपर्ने अवस्था भने छैन ।

बिशेषगरी दर्शकहरुले नेपाली फिल्मको कथा,बिषयबस्तु र प्रस्तुतिकरणमा कम्जोरी देखाउने गरेका छन् । सीमित बजेट,कम दिन र थोरै मेनपावरमा काम सक्नुपर्ने बाध्यतात्मक परिस्थितिमा जिइ रहेको नेपाली फिल्मलाई करोडौ लगानीमा बनेका बिदेशी फिल्मसँग दाँजेर हेर्ने कतिपयको असन्तुलित सोचका कारण राम्रै फिल्म बनाउदा पनि उनीहरुले नेपाली फिल्मलाई प्राथमीकताको टप थ्री भित्र पनि राख्ने गरेको पाइदैन । यद्यपी,पछिल्लो समय दर्शकले स्टार मात्र होइन, फिल्ममा कन्टेन्ट पनि खोज्न थालेका छन् । केही समयअघिसम्म स्टारले मात्र पनि फिल्म चलेको देखिएको थियो । तर पछिल्लो समय स्टारका साथमा कन्टेन्ट पनि खोज्न थालीएको छ । तर, यो नै स्थायी फर्मुला भने होइन । बजारको मुड कतिबेला बदलिन्छ, कसैले भन्न सक्दैन ।
कन्टेन्टको कुरा गर्दा,पछिल्लो समय निर्माता,निर्देशकहरु गाउँ,अझ बिकट गाउँ अनि केही दशकअघिका कथा खोज्नतिर लागेको देखिएको छ । यो सबै भएको हो,‘पूर्णबहादरको सारंगी’ को अभूतपूर्व ब्यापारले । यो फिल्मले बिश्वब्यापी गरेको अभूतपूर्व ब्यापार,पाएको क्रेज र ताििरफका कारण पछिल्लो समय अधिकांश निर्माता,निर्देशक गाउँको,गरिब परिवार,अझ सीमान्तकृत बर्गका कथा खोज्न आतुर देखिएका छन् । कन्टेन्ट मात्रै नबिक्ला भन्ने त्रास पनि छ । त्यसकारण बजारमा चर्चामा रहेका कलाकारलाई नै महंगो पारिश्रमीक तिर्न निर्माता तयार देखिन्छ । खाली हिन्दी,कोरियन,अंग्रेजी,तमील,टर्किस फिल्म चोरेर नेपालीकरण गर्ने बानी लागेका केही निर्माता,निर्देशक पनि अहिले ‘फिल्म त मौलिक नेपाली कथामा बनाउनुपर्छ’ भन्दै ‘पूर्णबहादुरको सारंगी’ को उदाहरण लिने–दिने गर्न थालेका छन् । कन्टेन्टको कुरा हुदै गर्दा कसैले फ्याट्ट ‘१२ गाउँ’ को कुरा निकाल्छ । बाँकी साथीहरुले ‘एक्शन फिल्म,त्यसको ब्रान्डिङ,सोसियल मिडिया क्याम्पेन अनि पब्लिसिटी स्टण्ड’ बारे जानेजति बिश्लेषण र समीक्षा सुरु गरिहाल्छन् ।

फिल्म न स्टारले मात्रै चल्छ । न कन्टेन्टले मात्रै । स्टार मात्रैले चल्ने भए ‘छड्के–२’ को बक्सअफिस २७ लाखको मात्रै हुने थिएन । कन्टेन्टले मात्रै चल्ने भए, दुई चोटी रिलिज गर्दा पनि ‘सानो संसार’ ले १० लाख ग्रस कटाउन हम्मे पर्ने थिएन । यहाँ जे चल्छ,त्यही अनुसार ब्याख्या,समीक्षा,धारणा बिकास,बिस्तार,बिश्लेषण र भबिष्याबाणी गर्ने गरिन्छ । जो सर्वथा एक अनुमान,हचुवागिरी र लहैलहै बाहेक केही प्रमाणीत हुन सकेको छैन । ठ्याक्कै यही यही कुरा,यही यही स्टार भए फिल्म चल्छ भन्ने दुनीयाँमा कसैले पनि ठोकुवा गर्न सक्दैन । फिल्म चल्न धेरै फ्याक्टरले काम गर्छन । राम्रो फिल्म बनाए चल्छ नै भन्न सकिदैन । नराम्रो फिल्म चल्दैचल्दैन भन्न पनि सकिदैन । समीक्षक,चलचित्रकर्मीले पूरा हेर्न नसकेको प्रतिक्रिया दिएका कतिपय फिल्मले बक्स अफिसमा करोडौं ब्यापार गरेका छन् । त्यही समीक्षक,चलचित्रकर्मीले ‘यत्तिको राम्रो फिल्म त बनेकै छैन’ भनेर ठोकुवा गरेका कतिपय फिल्म चौबिस घण्टा पनि हलमा टिक्न नसकेका थुप्रै उदाहरण छन् ।
फिल्म कस्तो, बनाउने, कुन बिषयमा बनाउने र कसरी प्रदर्शन गर्ने भन्ने बारेमा प्रत्येक निर्देशक,निर्माताको आ–आफ्नै सोच,धारणा,बुझाइ र योजना हुन्छन् । कहिलेकाहीं आफूलाई अत्यन्तै राम्रो लागेको बिषय मार्केटले मन नपराउन सक्छ भने कहिलेकाहीं आफूलाई औसत लागेको बिषय पनि मार्केटले निकै राम्रो मान्दिनँ सक्छ ।

मुख्य कुरा,मेकर आफूलाई के कुरा ठिक लाग्छ,त्यही बनाउनु पर्छ । मार्केटमा कसरी जाने,मार्केटिङ कसरी गर्ने,के कुरालाई हाइलाइट गर्ने जस्ता यावत कुराहरुको भने निकै ध्यान दिनुपर्दछ । जसरी नि पैसा कमाउँछु,पैसा बाहेक अर्थाेक केही चाहिदैन भन्ने लाग्छ भने त्यस्ता निर्माता,निर्देशकले फिल्म नबनाए हुन्छ । पैसा कमाउदैमा राम्रो,नकमाएका फिल्म नराम्रा भन्न मिल्दैन । हरेक फिल्मको आ–आफ्नै अस्तित्व,अर्थ,सुन्दरता र आफ्नै गुण हुन्छन् । संचारको सबैभन्दा प्रभावशाली माध्यमका रुपमा लिइने भएकाले फिल्मलाई पैसाको तराजुमा जोखेर मात्रै राम्रो र नराम्रो भन्न मिल्दैन । ओस्कार अवार्ड जितेका सबै फिल्मले निर्मातालाई आर्थिक मुनाफा दिएका पक्कै छैनन् । कतिपय कुरा सामाजीक प्रतिष्ठा र आत्मसन्तृष्टि र गौरवको बिषयसँग जोडिएका पनि हुन्छन् । फिल्म जस्तो प्रतिष्ठित अनि शसक्त माध्यमलाई हामीकहाँ आमरुपमा ब्यापारसँग मात्र तुलना गर्ने गरेको पाइन्छ । यो सोचबाट मुक्त भइ फिल्म कर्म निरन्तर गरिरहुन नै सच्चा स्रष्टाको पहिचान हो । जीवनयापन गर्न,बाँच्न पैसा चाहिन्छ । तर सबै थोक पैसा मात्रै पनि होइन । यो यथार्थतालाई गहन रुपले मनन गर्न जरुरी छ ।

०५७ सालमा एउटा पनि फाइट नभएको फिल्म ‘दर्पण छायाँ’ ले ब्लकबस्टर ब्यापार गर्यो । त्यसताका अधिकांश फिल्ममा कम्तीमा ४ वटा फाइट राखिन्थे । फाइट बिनाका फिल्म नून बिनाका तरकारी जस्ता मानिन्थे । मेकर अनि दर्शकलाई पनि त्यही बानी लागेको थियो । बिना फाइट फिल्म बनाएकाले सुरुमा त बितरकले फिल्म चलाउनै मानेनन् । निर्देशक तुुलसी घिमीरेले जसोतसो फिल्म हलमा त ल्याए तर सुरुका दिनमा प्रयाप्त दर्शक आएनन् । आएका अधिकांश दर्शकले ‘फाइटै रहेनछ, कस्तो फिल्म हो..! ’ भनेर गुनासो पनि गरे । तर, फिल्मले प्रदर्शनको छैठौंं दिनबाट यसरी पिकअप लियो की, ‘दर्पण छायाँ’ को ब्याबसायिक रेकर्ड तोडिन धेरै बर्ष लाग्यो । ‘दर्पण छायाँ’ पछि बिना फाइटका उही ‘दर्पण छायाँ’ जोडी निरुता सिंह, दीलिप रायमाझी र उत्तम प्रधानलाई लिएर थुप्रै फिल्म बने । परिणामहरु अन्ततः दुखद निस्किए । ‘दर्पण छायाँ’ चलेको देखेर ‘जिन्दगानी दर्पण छायाँ’ नामको फिल्म समेत बन्यो । ‘लुट’ चलेको देखेर ‘लुट कम्पनी’ बनाए झै ।

०६८ सालमा ‘लुट’ चलेपछि त्यस्तै रफ डाइलग र बिषयका करिब डेढ दर्जन फिल्म निर्माण गरिए । ०६८ कै चैत्रमा रिलिज भएको एडल्ट फिल्म ‘चपली हाइट’ पनि हिट भयो । ‘चपली हाइट’ पछि एडल्ट फिल्म बनाउने लहरै आयो । सधै पारिवारिक कथाका फिल्म बनाउदै आएका दीपक श्रेष्ठजस्ता निर्देशकले पनि त्यही लहरमा बगेर ‘रङ वे’ जस्तो अश्लील दृश्य र संवादले भरिएको एडल्ट फिल्म बनाए । अन्ततः अश्लीलताका साहरा लिएका त्यस्ता सबै फिल्मलाई दर्शकले ‘रिजेक्ट’ गरिदिए ।
गलौचाको ब्यापार फस्टाएको देख्दा बग्रेल्ती गलौचा फ्याक्ट्रि खोलिनू, क्याविन,डान्स रेष्टुरेन्ट फस्टाउँदा लस्करै क्याबिन,डान्स खोलिनु अस्वभावी त हैन । तर कालान्तरमा यो कत्तिको प्रत्युत्पादक हुन्छ भन्ने हेक्का चाहिँ राख्नु पर्छ । ‘१२ गाउँ’ चल्दा ‘अब एक्शन फिल्मको ट्रेन्ड आयो’ भनेर ‘एक्शन’ मा उत्रिनेहरु पनि निकै देखिए । तर, ‘पूर्णबहादुरको सारंगी’ चलेपछि भने ती ‘एक्शनवाला’ थचक्कै हुन पुगेका छन । मुख्य कुरा, सबै कुरा पैसामा मात्रै मापन गर्न र जता हावा वहेको छ, त्यतै लाग्नाले अन्ततः भड्खालो नै ‘लास्ट डेस्टिनेशन’ बन्न पुग्दछ । त्यसकारण, मेकर आफूलाई के कुराको स्वाद लाग्छ, त्यही बनाउनुपर्छ । र,बजारमा यसरी पुर्याउन सक्नुपर्छ की, दर्शकलाई त्यो नौलो ,रुचिकर र स्वादिलो लागोस् ।
(सुवेदी बरिष्ट पत्रकार,फिल्म लेखक,निर्माता,निर्देशक हुन् ।)