सुनापति गाउँपालिका थाङ्का हब घोषित

0 Shares

रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकालाई थाङकु÷थाङ्का हब घोषणा गरिएको छ । मौलिकता जर्गेना गर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा सुनापति गाउँपालिका र सुनापति प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबार गाउँपालिकालाई ‘सुनापति थाङकु÷थाङ्का कला हब’ घोषणा गरिएको हो । गाउँपालिकाको वडा नं ४ मा आयोजित कार्यक्रममार्फत बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले सोको घोषणा गरेका हुन् । घोषणासँगै पालिकामा ३ महिने थाङ्का कला प्रशिक्षण सुरुवात भएको छ । ‘गाउँपालिकाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न यो एउटा उत्कृष्ट कार्यक्रमको सुरुवात भएको छ,’ कार्यक्रममा चौलागाईले भने,‘यसलाई बचाउन र विकास गर्न जरुरी छ । मैले यसलाई पहिलो पाइलाको रूपमा लिएको छु ।’
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले पालिकालाई थाङ्का हब घोषणा गर्नुको मुख्य उद्देश्य अग्रज कलाकारलाई सम्मान गर्दै उनीहरूको ज्ञान नयाँ पुस्तामा लैजानु पनि भएको बताए । उनले प्रतिष्ठानले मौलिकता जोगाउने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने उद्देश्य राखेर हबको अवधारणा अघि सारेको जानकारी दिए ।

सुनापति,वडा नं ४ का अध्यक्ष डुन्डुप लामाले सुनापतिलाई थाङ्काको छुट्टै ब्राण्ड बनाउनुपर्ने बताए । वडाका प्रायः व्यक्तिहरू अग्रज थाङ्का कलाकार भएको जानकारी दिए । गाउँपालिकाका पूर्वअध्यक्ष धावा लामाले नेपालमा गणतन्त्र प्राप्त भइसकेपछि सीप सिकाएर देशको उन्नतिमा लाग्नुपर्ने धारणा राखे । गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले यस कार्यक्रमलाई पालिकाको पाँचवटै वडामा लैजाने बताए । उनले भने, ‘यहाँका महिला पुरुष सबैले थाङ्का लेखिरहेका छन् । सबैले सिकिरहेका छन् । यसलाई अझै व्यापक बनाउँदै थाङ्का हबलाई अन्तर्राष्ट्रिय करण गर्नुपर्दछ ।’
नेपाल पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटाले कलालाई पर्यटनसँग जोडेर लैजानु पर्नेमा जोड दिनुपर्ने बताए । कार्यक्रमका सभाध्यक्ष तथा सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङले ऐतिहासिक कार्यक्रमको सुरुवात गरेको बताउँदै यसलाई अवसरको रूपमा लिनुपर्ने बताए । उनले थाङ्का कलाको विकासक्रमका बारेमा चर्चा गर्दै यस कार्यक्रममार्फत पालिकामा नयाँ थाङ्का कलाकारको उत्पादन गर्दै नेपालमा थाङ्काको उत्कृष्ट गन्तव्य बनाउने योजना रहेको जानकारी गराए ।

सम्बन्धित समाचारसबै