फेसबुक र केही मिडियामा चकाचक देखिए तापनि ब्यापार भने चकाचक छैन । तीन वटै फिल्मको दिनानुदिन शोहरु घट्दै गइरहेको छ ।
काठमाडौं ।
चलचित्र बिकास बोर्डको बक्स अफिस प्रणालिले गत साता प्रदर्शनमा आएका र त्यसअघिदेखि प्रदर्शनमा रहेका नेपाली चलचित्रले अहिलेसम्म कति ब्यापार गरे भन्ने बारे जानकारी दिएको छ । सिनेपा बक्स अफिसमा शनिबार राति अर्थात् १६ जेठ मध्यरातिसम्मको ब्याबसायिक बिवरण सार्वजनीक गरिएको छ ।
सिनेमा बक्स अफिसका अनुसार २५ बैशाखबाट प्रदर्शनरत फिल्म ‘लालीबजार’ ले अहिलेसम्म ७,९०,३१४६७.४१ रुपैयाँको ब्यापार गरेको छ । हाल चौथो सातामा प्रदर्शनरत फिल्मको देशभरका हलमा २,६९२०२ वटा टिकट बिक्रीबाट उक्त रकम संकलन भएको देखिन्छ । ‘लालीबजार’ ले झण्डै ८ करोडको ब्यापार गर्दा सोही मितिबाट प्रदर्शनमा आएको ‘मालती मंगले’ ले भने निकै सकसका साथ करिब ५२ लाख रुपैयाँको ब्यापार गरेको छ ।
गायक रामकृष्ण ढकालले निर्माण गरेको अनि बिजय बराल र बर्षा राउत मुख्य भूमिकामा रहेको यो फिल्मले ५१,७३,७९३.८८ रुपैयाँको ब्यापार गरेको छ । सबै हलबाट उत्रिसकेको यो फिल्म १६१८८ वटा टिकट बिक्री भएको देखिन्छ ।

बैशाख ११ गतेबाट प्रदर्शनमा आएको ‘परालको आगो’ को देशभर १,५४,०३४ वटा टिकट बिक्री हुँदा ४,२७,८४,४४५.२० रुपैयाँको ब्यापार भएको देखिन्छ । यो फिल्म पनि देशभरका हलबाट उत्रिसकेको छ ।
जेठ १ गतेबाट प्रदर्शनमा आएको ‘लाइफ ड्यामेज’ फिल्म यद्यपी केही हलमा प्रदर्शन भइरहेको छ । यो फिल्म अहिलेसम्म १०,८५५ जनाले हेरेको तथ्यांक देखिन्छ भने यसबाट कुल ३३ लाख २६ हजार ३२० रुपैयाँ ब्यापार भएको छ ।
जेठ ८ गते सुपरस्टार कलाकारहरुले भरिएका दुई फिल्म–‘मितज्यू’ र ‘काजी’ प्रदर्शनमा आए ।
हाल दोश्रो सातामा प्रदर्शनरत यी दुई फिल्मले लगानी उठाउन नसक्ने स्पष्ट देखिएको छ । दयाहाङ राई,सौगात मल्ल,तेरिया मगरजस्ता चर्चित कलाकार अभिनीत ‘मितज्यू’ ले प्रदर्शनको ९ औं दिन अर्थात् दोश्रो साताको शनिबारसम्म जम्म १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँको ब्यापार गरेको छ । यो फिल्म शनिबार रातिसम्म ४१,२४८ दर्शकले हेरेका छन् ।

बिपीन कार्की र केकी अधिकारी स्टारर ‘काजी’ ब्यापार त झन् दयनीय देखिन्छ । बिपीनले ५१ लाख रुपैयाँ पारिश्रमीक लिएको दावी गरिएको यो फिल्मले शनिबार रातिसम्म ४० लाख ८८ हजार १७५ रुपैयाँको ब्यापार गरेको छ । १३ हजार ७ जनाले हेरेको यो फिल्मको शनिबारसम्मको ब्यापारबाट निर्माताको हातमा करिब १७ लाख रुपैयाँ हात पर्छ । यो रकम भनेको अभिनेत्री केकीले लिएको पारिश्रीमक बराबर हो । स्टार कलाकार राखेर बनाउदा पनि फिल्म नचलेपछि निर्माताहरु अहिले निकै तनाबग्रस्त अबस्थामा छन् ।

यो साता अर्थात १५ जेठबाट हलमा एकसाथ नयाँ तीन नेपाली भाषाका फिल्म रिलिज भएका छन् । ‘रोल नं १’,‘शेप अफ मोमो’ र ‘कुम्भ’ । फेसबुक र केही मिडियामा चकाचक देखिए तापनि ब्यापार भने चकाचक छैन । तीन वटै फिल्मको दिनानुदिन शोहरु घट्दै गइरहेको छ । यी फिल्महरुको बीचमा चौथो सातामा समेत ‘लालीबजार’ कै दवदवा देखिएको छ । ‘लालीबजार’ मा स्वस्तिमा खड्का बाहेक स्टार कलाकार कोही छैनन् ।