पिजी सर्टिफिकेट दिइएकोमा निर्देशक-निर्माताको कडा आपत्ति

0 Shares

 काठमाडौं ।

आफ्नो फिल्मलाई फिल्म एक्जामिनेसन बोर्डले पिजी सर्टिफिकेट दिएकोमा ‘रोल नं १’ का निर्देशक र निर्माताले स्टाटसमार्फत घोर आपत्ति जनाएका छन् ।

निर्देशक जोन योञ्जनले सेन्ट्रल फिल्म एक्जामिनेशन कमिटी (केन्द्रिय चलचित्र जाँच समिति,काठमाडौं) को निर्णयप्रति असन्तुष्टि जाहेर गरेका छन् । १५ जेठबाट प्रदर्शनमा आउन लागेको आफ्नो फिल्म ‘रोल नं १’ लाई कमिटीले पिजी (१६ बर्षमुनीका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने) सर्टिफिकेट दिएकाले उनले फेसबुकमा स्टाटस लेखेर बिरोध जनाएका हुन् ।

जोनले मात्र होइन,‘रोल नं १’ का निर्माता बिनोद पौडेलले फेसबुकमा असन्तुष्टि जाहेर गरेका छन् ।
निर्देशक जोनले सेन्सर बोर्डको नाम र मान्छे फेरिए पनि नियत नफेरिएकोप्रति कडा रोष ब्यक्त गरेका छन् । उनले समाजको वास्तविक कथा भन्नु अपराध हो ? भनेर कमिटीको नियतप्रति प्रश्न चिन्ह तेर्साएका छन् । उनले शैक्षिक मर्मलाई नबुझी आफ्नो फिल्मलाई लगाइएको पिजी सर्टिफिकेटको ट्यागले फिल्म एक्जामिनेशन कमिटीले परिक्षा फिल्मको होइन की,आफ्नै बौद्धिक क्षमताको लिनुपर्ने बेला आएको आक्रोश ब्यक्त गरेका छन् ।

उनले फिल्ममार्फत आफूहरुले शिक्षा र समाजको बिमर्शलाई केन्द्रमा राखेको तर कमीटीलाई शैक्षिक फिल्मको परिभाषा थाह नभएको दावी गर्दै सचेतनामुलक फिल्मप्रति हस्तक्षेप बौद्धिक र प्रशासनीक अज्ञानताको पराकाष्टा भएको उल्लेख गरेका छन् ।

निर्माता बिनोदको स्टाटस त झन् कडा छ । उनले हालै नियुक्त भएका कमिटी सदस्य निर्देशक मनोज पण्डितलाई ‘नयाँ जोगी’ उपमा दिएका छन् । उनले फेसबुकमा स्टाटस लेखेका छन्,–सिनेमा बुझ्ने मान्छे ठाउँमा पुगे सोचेको त सिनेमा धेरै बुझ्नेवाला पो परेछन ! नयाँ प्याकेट पुरानो माल ! नयाँ जोगी !

‘रोल नं १’ का निर्देशक,निर्माताको माग छ–युनीभर्सल सर्टिफिकेट पाउनु पर्यो । नयाँ सरकारसँगै परिबर्तन भएको सेन्सर नीतिले नाम र सदस्यहरु पनि फेरेको छ । अबदेखि फिल्म सेन्सर हैन, ग्रेडिङ हुने भनिएको छ । जसअनुरुप कुनै कुरा पनि नकाटेर,ब्लर गर्न नलगाएर सर्टिफिकेट दिइने तर हलमा कडा अनुगमन गरिने बताइएको छ । फलस्वरुप पछिल्लो समय प्रदर्शनमा आएका ‘मितज्यू’ र ‘काजी’ फिल्ममा ध्रुमपान,मद्यपान गरेको दृश्यमा पहिलाजस्तो ‘ध्रुमपान,मद्यपान हानीकारक छ’ लेख्नु परेको छैन ।

अश्लील मानिने गालीगलौच गरिएको ठाउँमा वीप पनि लगाउनु परेको छैन । अभिब्यक्ति र सृजनात्मक स्वतन्त्रताको नाममा छाडिएको सेन्सर र सुरु गरिएको ग्रेडिङले फिल्म निर्माण र समाजमा कस्तो असर पर्नेछ,त्यो भने कसैले आँकलन गरेको देखिदैन ।
‘रोल नं १’ ले के कारणले पिजी सर्टिफिकेट पायो ? त्यो भने खुलाइएको छैन । कमिटी सदस्य पण्डितसँग सम्पर्क हुन सकेन । नेपालमा युनीभर्सल र पिटी सर्टिफिकेट पाएका फिल्म हेर्न जाने दर्शकमा खासै भिन्नता देखिने
गरेको छैन ।

एडल्ट सर्टिफिकेट पाएका फिल्मप्रति भने चलचित्र बिकास बोर्ड र प्रशासनको अलि कडा निगरानी हुने भएकाले कहिलेकाही हलमा छापा मार्ने गरेको पनि पाइन्छ । एक फिल्मकर्मीले भने पिजी सर्टिफिकेट पाउदा फिल्मलाई फाइदै हुने दावी गरे । उनले भने,‘पिजी पाएको फिल्म हेर्न अभिभावकसहित जानु पर्छ । त्यसकारण ब्यापार बढ्छ नै । यसमा आत्तिनु पर्ने कुरा देख्दिनँ म,’ उनले थपे,‘१६ बर्षमुनीका बालबालिका कतिले यो फिल्म हेर्न चाहन्छन र तीनका अभिभावक कत्तिको फिल्ममैत्री हुन्छन,त्यसमा भर पर्छ ।’

सम्बन्धित समाचारसबै