भदौ १२ मा किन ५ फिल्म ? आखिर कसले कमाउछ ?

0 Shares

काठमाडौं ।
अझै फिल्म थपीने सम्भावना जीवितै
झण्डै आधा दर्जन फिल्मले प्रदर्शनको लागि एउटै मिति तोकेका छन्–भदौ १२ । एकसाथ भिड्न लागेका ती फिल्म हुन–‘बेहुली’,‘जदौ’,‘पार्वती’,‘मास्टर्नी’ र ‘ग्रेट’ । रक्षा बन्धन तथा जनै पूर्णिमाको बिदा छोपेर एकै दिन पाँच वटा नयाँ नेपाली फिल्म रिलिज हुन लागेका हुन् । सो मितिमा अरु पनि फिल्म थपीन सक्ने सम्भावना जीवितै छ ।

‘बेहुली’ ससान कँडेलको निर्देशनमा बनेको हो । यसअघि उनको टिमले निर्माण गरेको ‘होस्टेल ३’ सफल भएको थियो । त्यसकारण पनि होला,‘बेहुली’ मा पनि ‘होस्टेल ३’ कै अधिकांश कलाकार दोहोर्याईएको छ । यो फिल्ममा कुल ब्वाइ,दिब्या रायमाझी,पदम तामाङलगायतले अभिनय गरेका छन् ।

‘जदौ’ भने काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बनेको हो । मुकुन भुसाल,ऋचा शर्मा,नीति शाह,प्रतापपाल ठकुरी,सिपी धतुरे,राजश्रीलगायतका कलाकारले अभिनय गरेको फिल्म अन्तरजातीय प्रेमबिबाहको बिषयमा निर्माण गरिएको बताइन्छ ।

‘पार्वती’ भने अभिनेत्री नीता ढुंगानको डेब्यु निर्देशनको फिल्म हो । नीता स्वयम् शीर्ष भूमिकामा अभिनय गरेको फिल्ममा उनी अटिजम पीडित युवतीको भूमिकामा छिन् । उनको साथमा दीपाश्री निरौाला,अशोक दर्जीलगायतको अभिनय छ ।

‘मास्टर्नी’ को त टिजर नै सार्वजनीक भइसकेको छ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको यो फिल्ममा उनी आफै मुख्य भूमिकामा छिन् । सुवेन्दु घोष निर्देशक रहेको फिल्मको सुटिङ जम्मा १७ दिनमा सकिएको बताइन्छ । फिल्ममा प्रियंकाका साथमा प्रमोद अग्रहरी,आर्यन सिग्देललगायतको अभिनय छ ।

‘ग्रेट’ भने मनोज पण्डितको निर्माण,निर्देशनमा बनेको हो । भगवान गौतम बुद्ध र महात्मा गान्धीको जीवन दर्शनको बिषयमा निर्माण गरिएको बताइएको यो फिल्ममा मनोज पण्डित,बिशाल पोखरेललगायतको अभिनय छ ।
एकसाथ ५ वटा फिल्म रिलिज हुदाको घाटा सवै फिल्मलाई पर्ने निश्चित देखिन्छ । यी माथि पनि अरु फिल्म थपीएमा घाटाको प्रतिशत अझै बढ्ने निश्चित छ ।

पछिल्लो समय नेपाली फिल्म हेर्न दर्शक उत्साहीत नभइरहेको बेलामा भदौको झरीले अझ कति असर पार्ने हो,पर्खनु र हेर्नुको बिकल्प छैन ।

 

सम्बन्धित समाचारसबै