काठमाडौं ।
चलचित्र विकास बोर्डले बरिष्ट चलचित्र निर्देशक तुलसी घिमीरेलाई मानार्थ बिशिष्ट चलचित्रकर्मी परिचय पत्र प्रदान गरेको छ । बोर्डले बुधबार आयोजना गरेको समारोहमा निर्देशक घिमिरेले बिगत चार दशकदेखि निरन्तर नेपाली चलचित्र निर्माण,अभिनय,निर्देशनमा दिएको अतुलनीय योगदानको कदर स्वरुप परिचय पत्रले सम्मान गरेको हो ।
भारतीय नागरिक भए तापनि नेपाली चलचित्रको उन्नतीमा अनवरत योगदानको सम्मान स्वरुप निर्देशक घिमीरेका साथमा अभिनेत्री निरुता सिंह र बरिष्ट नृत्य निर्देशक कमल राईलाई पनि मानार्थ परिचय पत्र दिइएको हो ।

बोर्डले चलचित्र क्षेत्रमा दिएको योगदानको कदर स्वरुप चलचित्रकर्मीलाई मानार्थ,बिशिष्ट,बिशेष र चलचित्रकर्मी गरी चार श्रेणीमा बगीकृत परिचय पत्र दिने गरेको छ । परिचय पत्र चलचित्रकर्मीको आधिकारिक पहिचान,अभिलेखीकरण र राज्यसँगको औपचारिक सम्बन्धको प्रमाणका रूपमा रहेको बोर्डले जनाएको छ ।

लामो समयदेखि अनौपचारिक रूपमा रहँदै आएको सर्जक–राज्य सम्बन्धलाई व्यवस्थित गर्ने दिशामा यो मूर्त कदम भएको बोर्डको दावी छ । बोर्डले हरेकपटक बिशेष समारोह आयोजना गरि परिचय पत्र प्रदान गर्ने गरेको छ ।

बोर्डले बुधबार कलाकार, निर्देशक, निर्माता, छायाँकार, सम्पादक, संगीतकार, गायक, लेखक, गीतकार, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, श्रृंगारकर्मी, वितरक र प्रदर्शक गरी १२२ जनालाई बिबिध विधामा परिचय पत्र प्रदान गरेको छ ।

विशेष श्रेणीको परिचय पत्र निर्देशक मिलन चाम्लिङ राईलाई प्रदान गरियो भने विशिष्ट श्रेणीको परिचय पत्र विपना थापा, रेणु चौधरी, उमेश खड्का, सबला मल्ल (सङ्गम भण्डारी), सत्यदेवी थापा, बद्री पुडासैनी, सुरेन्द्र केसी, हेमन्त बुढाथोकी,राजु खड्गी, रामभक्त श्रेष्ठ, रोहित कार्की, विष्णु सापकोटा, सञ्जय न्यौपाने,गणेशप्रसाद सुवेदी,कुबेर शर्मा,मनोज राठी,जयराम थापा,रविन्द्र खत्री,मानबहादुर थापालगायतका ५० जना कलाकार,लेखक,बितरक,प्राबिधिकले प्राप्त गरे ।

चलचित्रकर्मी श्रेणीमा भने अम्बिका सापकोटा,विल्सन विक्रम राई, उत्तर लामा, कृष्णप्रसाद अर्याल, गोकुल सुवेदी, घनश्याम तिमल्सिना, रश्मिला कार्की, समना सिटौला, बालकृष्ण निरौला, पुस्कर राउत, सरिता राजोपाध्याय, सुदर्शन आचार्य, हरि कुँवर,क्षितिजा शाक्यलगायतका कलाकरले परिचय पत्र प्राप्त गरे ।

कार्यक्रममा अध्यक्ष दिनेश डीसीले सर्जकहरूबाट प्राप्त बिबिधि सल्लाह,सुझावलाई मनन गर्दै अझ व्यवस्थित र चुस्त तवरले बोर्डले काम गर्ने बताए । बोर्डले चलचित्रकर्मीको पहिचान, अभिलेखीकरण र पेसागत मर्यादालाई संस्थागत गर्ने दिशामा क्रमिक कदमहरू चालिरहेको स्मरण गराउदै उनले श्रेणीगत वर्गीकरणसहित परिचयपत्र वितरण गर्नु आफैमा सर्जकको पेसागत पहिचानलाई व्यवस्थित बनाउने प्रयास भएको जिकिर गरे । बोर्डले भविष्यमा थप चरणमा अन्य सर्जकलाई पनि परिचयपत्र प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ।