काठमाडौं ।
‘खुस्मा’ फिल्मको दोश्रो चरणको सुटिङ बिहीबारबाट सुरु गरिएको छ । धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्मको पहिलो सुटिङ गत माघमा मनाङका बिभिन्न रमणीय स्थलमा गरिएको थियो । दोश्रो चरणको सुटिङ पूर्वी रुकुमको मैकोटमा भइरहेको जानकारी निर्देशक अशोक थापा मगरले दिएका छन् ।
मगर समुदायको परिबेशमा निर्माण भइरहेको फिल्मको अधिकांश दृष्य पुन मगर जातीको उद्गम स्थल रुकुमको मैकोट,टकसेरा र कास्कीको पोखरामा गरिने बताइएको छ । जनयुद्धको प्रभावकाबीच अंकुराएको एक जोडीको प्रेमकथा प्रस्तुत गरिने फिल्मको निर्माता वीरबहादृर लामा,चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् । मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता रहेको फिल्मको कार्यकारी निर्माता मोहन राई हुन् ।
दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन,सुजाता राई, विजय सुब्बा,राज थापा काउचा,अस्तित्व भट्टचन,संगीता थापा मगर,अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायतको अभिनय छ । फिल्म असोज ३ गते प्रदर्शन हुने बताइएको छ ।