‘सतीदेवी’ को चर्चा सर्वत्र, मलिकाले जितिन् बेष्ट एक्टर जुरी अवार्ड

0 Shares

काठमाडौं ।  
पछिल्लो समय अभिनेत्री मलिका महत निकै चर्चामा छिन् । उनले अभिनय गरेको फिल्म ‘सतीदेवी’ ले बिभिन्न फिल्म फेष्टिलमा उत्कृष्ट अवार्ड जितिरहेको छ । जसकारण मलिकाको चर्चा चुलीएको छ । उनले हालै रामेछापमा सम्पन्न तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सवमा बेस्ट एक्टर जुरी मेन्सन अवार्ड जितिन् । फिल्म अभिनय करिअरमा पहिलोपटक वेस्ट अवार्ड हासिल गरेकी मलिकाले जीतको खुशी सामाजीक संजालहरुमा स्टाटस पोस्ट गरेर शेयर गरेकी छिन् ।

उनले फेसबुकमा पोस्ट गरेको स्टाटसमा लेखेकी छिन्,‘तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सव–०८० मा ‘सतीदेवी’ चलचित्रबाट बेष्ट एक्टर जुरी मेन्सन अवार्ड जित्न सफल भएकी छु । एक्टिङ करिअरमा मलाई यो अवार्डले अत्यन्त धेरै हौसला,प्रेरणा र उर्जा थपेको महसुस गरेकी छु । मलाई ‘सतीदेवी’ को शीर्ष भूमिकामा चयन गरि निकै मिहीनेत र स्वतन्त्रताका साथ अभिनय गराउनु भएका आदरणीय मल्टिट्यालेन्ट लेखक,निर्माता,निर्देशक लक्ष्मण सुवेदी सर,‘सतीदेवी’ का सम्पूर्ण सहकर्मी कलाकार,प्राबिधिक टिम,अवार्ड आयोजक सेलिब्रेटी नेपाल तथा जुरी टिम अनि मेरा सम्पूर्ण दर्शक,शुभचिन्तकप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’
लक्ष्मण सुवेदी निर्देशीत ‘सतीदेवी’ निर्माणा घोषणादेखिनै चर्चामा छ । अझ गत मंसिर पहिलो साता सार्वजनीक गरिएको फिल्मको फस्र्टलुक पोस्टरले त सबैको होसै उडाइदियो । मलिकालाई मात्रै प्रस्तुत गरिएको पोस्टरमा मलिका गालामा कालोमोसो र गलामा थोत्रा जुत्ताको माला लगाएको बिरक्त अबस्थामा गाउँलेहरुबाट रुदै भागीरहेको देखिन्छ । रातो कुर्था पहिरिएकी उनको उक्त पोस्टरले सर्वत्र चर्चा मात्रै पाएन, फिल्ममा केही छ भनेर आममानिसमा चासो प्रवल गरायो । म्युजीक भिडियोकी चर्चित मोडल मलिकाले ‘यात्रा’ फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेकी हुन् । त्यसपछि उनका ‘पानीफोटो’ र ‘अगस्त्य’ फिल्म दर्शकमाझ आइरहेका छन् । यद्यपी,‘सतीदेवी’ सार्वजनीक प्रदर्शनमा नआउदै उनले अब्बल अभिनय गरेको चर्चा बजारमा चलेको छ । सेन्सर,बिशेष प्रदर्शन तथा फेस्टिभलमा ‘सतीदेवी’ हेरेका दर्शकले फिल्मको निकै तारिफ गर्ने गरेका छन् । छोरीको महत्व दर्शाइएको बताइने फिल्म हेरेका सतप्रतिशत दर्शकले फिल्म अत्यन्त मन परेको,रुदारुदा आँशु सकिएको तथा कतिपयले अहिलेसम्म बनेका नेपाली फिल्महरु मध्ये सबैभन्दा राम्रो लागेको समेत प्रतिक्रिया दिएका छन् ।

यो फिल्मले गत माघ तेश्रो साता सम्पन्न सौराह दक्षिण एशियाली फिल्म फेस्टिभवलमा सर्वाेकृष्ट फिल्म र बरिष्ट निर्देशक स्व.शिब रेग्मीको नाममा समर्पित शिब रेग्मी सर्वाेत्कृष्ट निर्देशकको अवार्ड समेत जितेको थियो । त्यसैगरी यो फिल्मले तेश्रो ग्रामिण फिल्म फेष्टिभलमा सर्वाेत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्डका साथमा सर्वाेत्कृष्ट फिल्म र सर्वाेत्कृष्ट स्क्रिप्टको अवार्ड समेत जितेको थियो । जताततै चर्चा र तारिफमाथि तारिफ भइरहदा आगामी दिनमा कस्ता चलचित्र र कस्ता भूमिकामा आफूलाई अघि बढाउने भन्नेमा मलिकालाई चुनौती भने थपीएको छ ।

बिसुद्ध नारी प्रदान कथामा रहेको बताइने ‘सतीदेवी’ मा मलिकाले सतीदेवीको शीर्ष भूमिका निर्वाह गरेकी छिन् । मतलब, पूरै फिल्म उनको काँधमा छ । फिल्म ब्याबसायिक रुपले पनि सफल भएमा नेपाली फिल्मको वर्तमान मोनोटोनस ट्रेन्ड भने ‘सतीदेवी’ ले पूरै परिवर्तन गर्ने पक्का छ । किनभने, यसप्रकारको मौलिक बिषयबस्तुमा फिल्म बनाउने आँट हत्तपत्त गर्ने गरेको देखिएको छैन । निर्देशक सुवेदीले भने निकै ठूलो चुनौती उठाएका छन् । उनको चुनौतीले ब्याबसयिक रुप धारण गर्न सक्यो भने पक्कै पनि उनी अर्काे ट्रेन्ड सेटर मेकरमा पर्नेछन् ।

दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा निर्माण गरेको ‘सतीदेवी’ मा मलिकाका साथमा बालकलाकार द्वय हर्षिका ओली र मञ्जिला बानीयाँ,कुलबहादुर अधिकारी,सृजना अधिकारी,रमेश बुढाथोकी,भोला सापकोटा,सन्दिपबाबु लोहनी, सुजना शिबाकोटी,सन्देश लिम्बू,मनिषा सापकोटा,बिमल श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । दिलासा,सारा र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्मको प्रदर्शन मिति केही दिनमै सार्वजनीक गरिने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।

 

सम्बन्धित समाचारसबै