काठमाडौ ।
नाटकलाई सिरिजको रुपमा रुपान्तरण गरिएको वेवप्ले ‘यौटा सपनाको अवसान’ नयाँ बर्षको दिनबाट कान्तिपुर सिनेमाजबाट प्रसारण भइरहेको छ । यही वेवप्लेको लिरिकल भिडियो मंगलबार सार्वजनिक गरिएको छ । ‘आऊ हजुर आऊ..’ बोलको गीतमा न्हयु बज्राचार्यको संगीत, विप्लव प्रतीकको शब्द र शारदा अधिकारीको स्वर छ । लिरिकल भिडियोमा नाटक मञ्चनको समयको विशेष मुद्रालाई समावेश गरिएको छ ।
डोरेमी संगीत पाठशालाबाट गायनको प्रशिक्षण लिएकी गायिका शारदा ११ वर्षदेखि थिएटरमा सक्रिय छिन् । यो गीतले आफ्नो जीवनको धेरै वटा सपना एकसाथ पूरा गरेको उनले बताएकी छिन् । ‘संगीतमा न्ह्यू बज्राचार्य र थिएटरमा अनुप बराल मेरो गुरु हुनुहुन्छ । यो गीतले दुवै गुरुसँग काम गर्ने अवसर जुराएको थियो । त्यसैले यो गीत मेरा लागि विशेष छ ,’ गायिका अधिकारीको कथन छ । नाटकमा अभिनय समेत गरेकी गायिका शारदाले सुरुमा यो गीत गाउन सक्दिनँ की भन्ने त्रस भए तापनि संगीतकार बज्राचार्यको हौसलाले आफूलाई सहज भएको बताउँछिन्।
नाटक गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको थियो । गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले मञ्चनमा छुटाएका दर्शकलाई लक्षित गर्दै नाटकलाई वेबप्लेका रुपमा पस्किएको हो । निर्माता गोविन्द पराजुलीले नाटकलाई नयाँ दर्शक माझ लैजाने प्रयास स्वरुप ‘यौटा सपनाको अवसान’लाई ओटिटीमा रिलिज गरिएको बताए । सिरिजले ओटिटीमा उत्साहजनक दर्शक पाइरहेको उनको दाबी छ । अनुप बरालले निर्देशन गरेको नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गरेको छ । वेवप्ले कान्तिपुर सिनेमाजमा ७ भागमा उपलब्ध छ ।
हेर्नुस् गीतः–