१०८ कलाकारको स्वरमा ‘बुद्धम् शरणम् गच्छामी’

0 Shares

काठमाडौं ।

भगवान गौतम बुद्धमा समर्पित ‘बुद्धम शरणम् गच्छामी..’ बोलको बौद्ध श्लोक (मन्त्रोचारण) बिभिन्न एक सय ८ जना गायक गायिकाको स्वरमा रेकर्ड गरिएको छ । बुद्धशान्त पार्क निर्माण समितिले तयार पारेको गीतमा अग्रजदेखि नवोदित गायकगायिकासम्मको स्वर रहेको छ । जुगल डंगोलको संगीत रहेको ४३ मिनेट लामो बौद्ध गीतमा ज्ञानु राणा, संगीता राना, जुजुकाजी रंजित, अमरराज शर्मा, रमना श्रेष्ठ, यमन श्रेष्ठ, प्रवेशमान शाक्य, लोचन भट्टराई, संगीता शाक्य, बिजयनारायण मानन्धर, दिवाकर खड्का, निशा देशार, सानुबाबु महर्जन, केञ्जुमा सुब्बा, सरिता भारती लगायतले स्वर दिएका छन् । यति धेरै गायक गायिकाले गाएको सम्भव त यो नै नेपालको पहिलो हो ।


‘त्रिशरण गमनम्’ नामक एल्बममा समाबेश यस श्लोक गीतको उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सोमबार राजधानीमा बिमोचन गरे । उनले यस गीतले बुद्ध नेपालमा जन्मेको तथ्यलाई विश्वभर फैलाउन थप मद्दत गर्ने बिश्वास ब्यक्त गरे । हरेक कलाकारले एक–एक पटकका साथै सामुहिक रुपमा पनि यो श्लोक गाएको जानकारी संगीतकार जुगलले दिए । कार्यक्रममा बोल्दै भिक्षु धर्ममूर्ति भन्तेले यसरी बुद्धम् शरणम् गच्छामी जस्तो पवित्र श्लोकलाई १०८ जनाको स्वरमा रेकर्ड गरेर एल्बमको रुपमा ल्याउनु ऐतिहासिक कार्य भएको बताए । बौद्धमार्गीहरुले १०८ पटक मालामा मन्त्र जप्ने भएकाले सोही आधारमा १०८ जना कलाकारको स्वरमा श्लोक रेकर्ड गरिएको प्रस्तुतकर्ता बुद्धशान्त पार्क निर्माण समितिका अध्यक्ष शान्तबहादुर शाक्यले बताए । हाल अडियोको रुपमा सार्वजनिक गरिएको श्लोकलाई भिडियोको रुपमा चाँडैनै सार्वजनीक गरिने छ ।

 

सम्बन्धित समाचारसबै