काठमाडौं ।
‘रेड सुटकेस’ फिल्म क्युएफएक्स चेनका हलमा प्रदर्शन नगरिने भएको छ । चैत्र ३० गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मको निर्माण कम्पनी आइसफल्स प्रोडक्सन्सले आइतबार बिज्ञप्ती जारी गरी क्युएफएक्सले आफ्नो फिल्मलाई प्रयाप्त शोज् दिन नसक्ने बताएकाले आफूहरुले सो च्यानलका बाहेकका हलमा मात्र फिल्म प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ ।
जर्मनी निवासी फिडेल देवकोटा निर्देशीत फिल्म गत बर्षको बिश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिवलमा प्रिमीयर गरिएको थियो । बिश्वका प्रसिद्ध फेष्टिभलहरुमा अवार्ड जित्न सफल ‘रेड सुटकेश’ मा सौगात मल्ल,बिपीन कार्की,प्रविण खतिवडा र सृष्टि श्रेष्ठ मूख्य भूमिकामा छन् । क्युएफएक्स म्यानेजमेन्टले चैत्र ३० को मितिमा स्वदेशी तथा बिदेशी फिल्महरुको बीचमा आफुहरुलाई निकै न्युन शोज मात्र दिन सक्ने,यदि फिल्म एकसातापछि प्रदर्शन गर्ने हो भने अलि धेरै शोज दिन सकिने आशय ब्यक्त गरेकाले आफूहरुले क्युएफएक्सका कुनै हलमा पनि फिल्म प्रदर्शन नगर्ने निर्णय गरेको निर्माता रामकृष्ण पोखरेल हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । उनले क्यएफएक्सले आफ्नो अघिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’ लाई बिदेशी फिल्म सेन्सर नभएको झोंकमा समयमै बुकिङ नखोले अन्याय गरेको उल्लेख गरेका छन् ।
नेपालबाट अन्तराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्न सफल यसप्रकारका चलचित्रलाई ब्याबसायिकताको नाममा क्युएफएक्सको देखाएको रवैवाप्रति बिरोध गरिएको छ । बिज्ञप्तीमा कुनै फिल्मको ब्यापारको भबिष्याबाणी फिल्म रिलिज अघिनै हचुवामा भरमा नगर्न पनि चेतावनी दिइएको छ । चैत्र ३० मा रामबाबु गुरुङको ‘डिग्री माइला’ प्रदर्शन हुदैछ भने चैत्र २८ गते नै ठूला दुई हिन्दी फिल्म ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ प्रदर्शन हुदैछन् । यता,‘महाजात्रा’ मा दर्शक आइरहेकाले क्युएफएक्सले सो मितिमा ‘रेड सुटकेश’ लाई प्रयाप्त शो दिन नसक्ने बताएको हो । ‘रेड सुटकेश’ आरआर फिल्मस्ले बितरण गर्दैछ ।