चलचित्र संघ अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित,११ चलचित्रकर्मीलाई सम्मान

0 Shares

काठमाडौं,१९ चैत्र । 
नेपाल चलचित्र संघको नयाँ अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् । राजधानीमा शनिबार सम्पन्न निर्वाचनमा महर्जनले आफ्ना प्रतिद्वन्द्वी कुवेर शर्मालाई ६० मतले हराएका हुन् । सदर १५० मत मध्ये महर्जनले १०४ र शर्माले ४६ मत प्राप्त गरेका थिए । फिल्म हल संचालक र बितरकहरुको एक मात्र सस्ंथाका रुपमा रहेको नेपाल चलचित्र संघ बिसं २०१३ सालमा स्थापना भएको हो । फिल्म सम्बन्धी सबैभन्दा पुरानो संस्था भएकाले संघको नेतृत्वकर्ता तथा गतिबिधिप्रति नेपाली फिल्म क्षेत्रमा राम्रै चासो लिने गरिन्छ ।
४९ औं साधारण सभा तथा चुनावी अधिवेशनमा आगामी तीन बर्षीय कार्यकालका सदस्यमा छबिराज ओझा,गोपालकाजी कायस्थ,देवेन्द्र खड्गी,दिप्रश शाक्य,राजकुमार श्रेष्ठ,नीरज गुप्ता, प्रज्वल शम्सेर राणा,ओमप्रकाश जैसी,करण श्रेष्ठ,आशिष तामाङ,कपिलप्रसाद द्ववा,गोविन्द शाही र सुरेन्द्र थापा चयन भएका छन् । संघको बिधानबमोजीम निर्वाचित सदस्यबाटै उपाध्यक्षलगायत कार्यसमिति पदाधिकारी चयन गरिने छ ।
चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आथित्यतामा सम्पन्न साधारण सभामा संघले चलचित्र क्षेत्रमा योगदान दिएका एघार ब्यक्तित्वलाई सम्मान गरेको थियो । अभिनेता शिब श्रेष्ठलाई द्ववारीकाप्रसाद उदय–शिब शंकर मानन्धर अभिनेता सम्मान–०७९ बाट सम्मानीत गरियो । निर्देशक ज्ञानेन्द्र देउजालाई भुपेन्द्र–बिष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान प्रदान गरियो ।
अभिनेत्री गौरी मल्ल गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मानबाट सम्मानीत हुदा गायिका देविका प्रधान भुवनेश्वरी अमात्य नारायण गोपाल स्मृति संगीत सम्मानबाट सम्मानीत भइन् । कार्यक्रममा शेरबहादुर पोखरेल श्रीबिक्रम राणा स्मृति पत्रकारिता सम्मान पत्रकार बिदूर गिरीलाई प्रदान गरियो । पुराना फिल्म सम्पादक नरेन्द्र खडुकाले क्वेस्ट इन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राबिधिक सम्मान प्राप्त गरे । हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शम्सेर स्मृति लेखन सम्मान मौनता श्रेष्ठ तथा मैयादेवी प्रधान गोपाल भुटानी स्मृति द्वन्द्व कलाकार सम्मान योगेन्द्र श्रेष्ठले पाए । निर्माता छबिराज ओझा हरिप्रसाद द्ववा भगवानदास श्रेष्ठ स्मृति निर्माता सम्मानबाट सम्मानीत हुदा नन्दबहादुर महर्जन वीरेन्द्र पाण्डे स्मृति प्रदर्शक सम्मानबाट तीर्थ प्रधान सम्मानीत भए । त्यसैगरी पुराना छायाकार मञ्जुकुमार श्रेष्ठ राजवीर कायस्थ वैकुण्ड मास्के स्मृति छायाँकार सम्मानबाट सम्मानीत भए । सम्मानीत सबै चलचित्रकर्मीलाई कदर पत्रसहित १५ हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठले द्वन्द्वकाल,कोभिड काल र अहिलेको चलचित्र ब्यबसायको बारेमा बिश्लेषणात्मक टिप्पणी राखेका थिए । उनले सरकारले लगाएको चर्काे कर र चलचित्र ब्याबसायप्रति सहयोगको भावना नहुनाले पेशा संकटग्रस्त भएको बताए । उनले पहिला देशभर करिब ४५० वटा हल भएकोमा हाल बन्दा हुदै हुदै १५० मा सिमित भएको दयनीय अबस्थाको बारेमा जानकारी गराएका थिए ।
संघका पूर्व अध्यक्ष प्रदिपकुमार उदयले संघका पदाधिकारीहरुले आफ्ना अभिभावक तथा सन्ततीको नाममा अक्षय कोष स्थापना गरि सोहीको ब्याजबाट चलचित्रकर्मी स्रष्टालाई नगद राशी सहित सम्मान गरिएको स्मरण गराए ।
प्रमुख अथिति चलचित्र बिकास बोर्ड अध्यक्ष भुवन केसीले आफू चलचित्र क्षेत्रका सर्वपक्षिय समस्या समाधान गर्न अहोरात्र लागीरहेको र सरकारको तर्फबाट चलचित्र क्षेत्रका लागि छिट्टै नै ठोस कदम चालिने बिश्वासमा रहेको बताए । कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले चलचित्र ऐन यथासक्य छिटो सदनबाट पास भइ लागू हुने पर्नेमा जोड दिए भने अन्य वक्ताहरुले पनि चलचित्र क्षेत्रको बिकास र उद्योगको स्वरुप धारण गराउनका लागि सबैले यथेष्ट पहल गर्नुपर्ने धारणा राखे ।

 

सम्बन्धित समाचारसबै