काठमाडौं,१६ चैत्र ।
नवीन सुब्बा निर्देशीत फिल्म ‘गाउँ आएको बाटो’ एकपछि अर्काे अन्तराष्ट्रिय फिल्म फेष्टिभलमा छनौट भइरहेको छ । सन् २०२३ को टोरोन्टो इन्टरनेशनल फिल्म फेष्टिभलमा वल्र्ड प्रिमीयर भएको फिल्म पहिलोपटक नेपालबाट चाइनाको बेइजिङमा १९–२२ अप्रिलसम्म आयोजना हुने १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेष्टिभलमा छनौट भएको हो ।
दयाहाङ राई,पशुपति राई,प्रसुन राई,केशब राई,सुमित्रा राई,राज थापा,प्रेम सुब्बालगायतका कलाकारले अभिनय गरेको फिल्म बुसान इन्टरनेशनल फिल्म फेष्टिभलमा पनि छनौट भएको फिल्म मुम्बइमा सम्पन्न मामी मुम्बई फेष्टिभलमा पनि प्रिमियर गरिएको थियो । स्वीडेनमा सम्पन्न ४७ औं गोटेबर्ग इन्टरनेशनल फिल्म फेष्टिभलमा समेत छनौट भएको फिल्मले बिकट गाउँमा बाटो पुगेपछिको जनजीवन चित्रण गर्ने बताइन्छ । बाबु र छोराको आत्मीयताको कथा बोल्ने फिल्म नेपालका हलमा भने आगामी १८ जेठमा प्रदर्शन हुदैछ ।
सन् २००१ मा लिम्बू संस्कृतिमा आधारित ‘नुमाफुङ’ निर्देशन गरेर देश–बिदेशमा चर्चा पाएका निर्देशक नवीनको हलमा प्रदर्शनमा आउन लागेको ‘गाउँ आएको बाटो’ नै दोश्रो फिल्म हुन्छ । उनले बीचमा ‘गुड बाइ काठमाडौं’ नामक फिल्म निर्देशन गरेका थिए । निर्माण सम्पन्न भएको धेरै बर्ष बितिसक्दा पनि सो फिल्म हलमा आउन सकेको छैन । उनले जातीय छुवाछुतको बिषयमा निर्देशन गरेको टेलिश्रृंखला ‘दलन’ पनि चर्चित थियो । अमोद राई र नवीन सुब्बा निर्माता रहेको ‘गाँउ आएको बाटो’ मेन्छ्याएम पिक्चर्स र बाँसुरी फिल्मको ब्यानरमा निर्मित छ ।