शो कम दिएको भन्दै ‘सलीना’ स्थगीत,‘घामड शेरे’,‘राधा’,‘बुलाकी’ र ‘काँडेतार’ ले पनि गरेका थिए यस्तै

0 Shares

काठमाडौं, १५ चैत्र ।
फिल्म हलले प्रयाप्त शो नदिएको कारण देखाउदै रिलिजको दुई दिनमा फिल्म उतार्ने क्रम बढ्दै गइरहेको छ । केही निर्माताले आफ्नो फिल्मलाई मल्टिप्लेक्स हलले हेपेर निकै न्युज शो दिएको अनि दिएको शो पनि ‘अफ टाइम’ मा राखेको गुनासो गर्दै चल्दै गरेको फिल्म उतारेको पाइन्छ । कम शो दिएको कारण शो खुलाएको दुई दिनमा फिल्म रिलिज स्थगीत गरेको दोश्रो घटनामा परेको छ,नेपालकै पहिलो एनिमेटेड फिल्म दावी गरिएको ‘सलिना’ । शोज कम पाएको भनेर पहिलोपटक ‘घामड शेरे’ को प्रदर्शन दुई साता पर सारिएको थियो ।
‘सलिना’ यही शुक्रबार अर्थात १६ चैत्रबाट देशब्यापी प्रदर्शनमा आउने भन्दै प्रचार गरिएको मात्रै थिएन, हलहरुले शो बिभाजन पनि गरिसकेका थिए । क्युएफएक्स,बिग,एफक्युवलगायत राजधानी र बाहिरका सिनेमा हलले पनि एक-एक,कुनैमा दुई शो समेत निकालेका थिए । तर,यो फिल्मका निर्माता,निर्देशकले आफूहरुलाई हलले प्रयाप्त शो नदिएको भन्दै बिहीबार दिउँसो फिल्म प्रदर्शन स्थगीत गरेका छन् । निर्माताले फिल्म रिलिज नगर्ने घोषणा गरेसँगै हलहरुले पनि आफ्नो वेवसाइटबाट ‘सलीना’ हटाएका छन् । आफूहरुले अन्तराष्ट्रिय स्तरको फिल्म बनाएको भए तापनि हलहरुले हेपेर उचित शो नदिएकाले तत्काललाई प्रदर्शन स्थगीत गरिएको ‘सलिना’ का निर्माता बताउछन् । एकाएक फिल्म प्रदर्शन स्थगीत गरेको बारेमा सिनेमा हलहरुको आधिकारिक धारणा भने आइसकेको छैन ।

०७९ सालको भदौ १० गते प्रदर्शन गरिएको फिल्म ‘द सिक्रेट अफ राधा’ दुई दिनपछि निर्माताले हलबाट उतारेका थिए । सुवर्ण थापा निर्देशीत सो फिल्ममा दयाहाङ राई,सौगात मल्ल,निश्चल बस्नेत,खगेन्द्र लामिछाने,स्वस्तिमा खड्का, सृष्टि श्रेष्ठ,बुद्धि तामाङजस्ता चर्चित कलाकारले अभिनय गरेको भए तापनि प्रदर्शनको पहिलो दिनमै हलमा दर्शकको खडेरी लागेको थियो । त्यसमाथि शोज पनि कम पाएको बहाना बनाउदै फिल्म उतारेका थिए । त्यतिबेला निर्देशक सुवर्णले ‘राधा’ पुनः प्रदर्शन गर्ने भनेर पछि ०८० को भदौ २९ गतेलाई मिति तोकेका थिए । तर फिल्म सो मितिमा पुनः प्रदर्शन भएन । ‘राधा’ सँग ‘प्रकाश’ रिलिज भएको थियो । ‘प्रकाश’ का प्रदिप खड्काले आफूहरुलाई बिदेशी फिल्मको चेपुवामा पारेर कम शोज दिएको भन्दै पत्रकार सम्मेलन गरेर आवाज बुलंद गरेका थिए । जसकारण हलहरुले केही शोज थपि दिएका थिए । ‘प्रकाश’ ले औषत ब्यापार गरेको थियो ।
गत फागुन २५ मा एक साथ ३ फिल्म प्रदर्शनमा आए । ‘उपहार’,‘रंगेली’ र ‘काँडेतार’ । ‘काँडेतार’ ले हलले कम शोज दिएर राष्ट्रियता सम्बन्धी बिषयमा बनेको फिल्मको गला दवाएको भन्दै प्रदर्शनको तेश्रो दिन फिल्म देशभरका हलबाट उतारेका थिए । प्रदर्शनको पहिलो र दोश्रो दिनमा हलमा ‘काँडेतार’ ले पनि दर्शक खडेरी सामाना गर्नु परेको थियो । ‘रंगेली’ र ‘उपहार’ ले पनि हिन्दी फिल्म ‘सैतान’ को दाँजोमा कम शोज पाएको गुनासो गरिरहे तापनि फिल्म चाहिँ उतारेनन् । यद्यपी, उक्त मितिका तीन वटै नेपाली फिल्मले लगानी उठाउन सकेनन् ।
कम शोज पाएको बहाना बनाएर रिलिजको दोश्रो दिनमा निर्माताले आफै फिल्म उतारेको अर्काे घटना हो,०८० बैशाख १ मा प्रदर्शन भएको ‘बुलाकी’ । सो मितिमा ‘बुलाकी’ सँगै ‘जारी’ र ‘बिहे पास’ गरी तीन फिल्मको भिडन्त भएको थियो । नयाँ बर्षमा प्रदर्शन गर्दा नि सन्तोषजनक रुपमा हलमा दर्शक नआएपछि ‘बुलाकी’ का निर्माताले फिल्म ‘पछि फेरि रिलिज गर्ने’ भन्दै उतारेका थिए । एक बर्ष बित्न लाग्यो, यद्यपी ‘बुलाकी’ पुनः प्रदर्शन गरिएको छैन । सोही मितिमा प्रदर्शन भएको ‘जारी’ ले १७ करोड करिब ब्यापार गर्यो । दयाहाङ स्टारर ‘बिहे पास’ ले औसत ब्यापार गरेको थियो । यद्यपी, निर्माताले यो फिल्म असार २९ मा पुनः प्रदर्शन गरे । त्यसबाट केही लाख रुपैयाँ कमाइ भएको बताइन्छ ।
०७९ को दशैताका प्रदर्शन गरिएको ‘नालापानी’ फिल्मले पनि उचित शो नपाएको गुनासो निर्माताले गर्ने गर्छन् । आफूले सारा नेपालीले हेर्नुपर्ने वीर नेपालीको बहादुरीको कथा पर्दामा उतारेकाले सम्मानजनक साथ पाउनु पर्ने दावी गरिने गरिएको छ । तर यहाँ कसले मनन गर्छ र ? यद्यपी, ‘दर्शकको मागलाई ध्यानमा राखी’ भन्दै यो फिल्म आगामी साउन १८ गते पुन रिलिज गरिदैछ ।

‘सलिना’ को कुरा गर्नु पर्दा, यो फिल्म अब कहिले हलमा आउछ, त्यो निर्माता,निर्देशकलाई पनि थाह छैन । बिशेषगरी बालबालिका लक्षित यो फिल्म काल्पनीक कथामा एनिमेसन प्रबिधिबाट निर्माण गरिएको हो । तेजसराज जोशीको निर्देशनमा बनेको फिल्मको निर्मातामा तेजस स्वयम् र श्रुती श्रेष्ठ छिन् । फिल्मको ग्राफिक सगीन महर्जन,अविनाश सिंह थारु र शिरभा मानन्धरले गरेका हुन् । शिब पुरी र श्रुतीले सम्पादन गरेको फिल्ममा सुशील नेपाल,अदिति ज्ञवाली,बेनिशा खतिवडा,एज्मी कुइँकेल,झरना राई,देव न्यौपाने,शिब पुरी,युविन पुजारी,जुना थापालगायतको पाश्र्व स्वर रहेको छ ।

 

सम्बन्धित समाचारसबै