रामेछापमा तेश्रो ग्रामीण चलचित्र महोत्सव हुने,देखाइने छ दुई दर्जन बढी फिल्म

0 Shares

 रामेछाप,१४ चैत्र ।
नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ) को तेश्रो संस्करण रामेछापको मन्थलीमा आयोजना हुने भएको छ । बैशाख ६ देखि ८ गतेसम्म रामेछापको मन्थलीमा गरिने महोत्सवमा ग्रामिण भेकका कथा र परिबेशमा बनेको फिचर फिल्म, सर्ट फिल्म,बृत्तचित्र तथा भाषाभाषीका फिल्महरु प्रदर्शन र प्रतिस्पर्धा हुने छ ।


आयोजक संस्था सेलिब्रेटी नेपालले बुधबार रामेछापमा पत्रकार सम्मेलन गरि नेरुफको तेश्रो संस्करण बारे जानकारी दिएको हो । हरेक बर्ष फरक फरक स्थानमा आयोजना हुदै आइरहेको नेरुफ यसपालि रामेछाप पुगेको जानकारी आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले दिए । ‘ग्रामीण भेगका कथा,परिबेशमा बनेका चलचित्रहरुको महोत्सव हरेक बर्ष फरकफरक ग्रामीण स्थलमा गर्दै आइरहेका छौ,’ रघुनाथ भन्छन्,‘पहिलो महोत्सव गोरखामा गर्यौ,दोश्रो काभ्रे र अब रामेछापमा गर्दैछौं । फिल्म र पर्यटनको बिकासमा महोत्सवले सकारात्मक भूमिका निर्वाह गरिरहेको बुझाइ हाम्रो छ । ’


ग्रामीण फिल्म,कथा तथा पर्यटनका बिषयमा बिभिन्न सम्वाद कार्यक्रम समेत राखिने महोत्सवमा राजधानीबाट उल्लेख्य मात्रामा फिल्मकर्मी सहभागी गराइने सापकोटाले बताए । रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुने महोत्सवमा दुई दर्जन बढी फिल्म,बृत्तचित्र तथा लघु फिल्म प्रदर्शन गर्ने योजना आयोजकको छ । आफ्नो गृह जिल्ला रामेछापमा पहिलोपटक आफ्नै संयोजक्त्वमा महोत्सव गर्न पाउदा खुशी लागेको निर्देशक कमल एक्चै मगरले बताए । पत्रकार सम्मेलनमा उनले रामेछाप जिल्लामै एउटा पनि फिल्म हल नभएको जानकारी दिदै यस प्रकारका महोत्सवले नेपाली फिल्म,बृत्तचित्र तथा पर्यटनको बिकासमा निकै टेवा पुग्ने धारणा राखे ।
रामेछापमा फिल्म हल नभएकाले त्यहाँका स्थानीयबासी फिल्म हेर्नका लागि करिब ५० किलोमिटर टाढा सिन्धुली पुग्ने गरेका छन् । नेरुफले नेपाली फिल्मप्रति दर्शकको चासो बढाउन ग्रामीण भेकमा महोत्सव आयोजना गर्दै आइरहेको आयोजकले बताउने गरेका छन् ।

 

सम्बन्धित समाचारसबै