काठमाडौं ।
अमरदीप सापकोटाको लेखन,निर्देशनमा रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्ममा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा प्रमुख भूमिकामा अभिनय गर्ने पक्का भएको छ ।
चर्चित लोकदोहोरी गायक पशुपति शर्मालाई अब अभिनेताको रुपमा हेर्न पाइने भएको छ । केही फिल्ममा पाश्र्व गायन समेत गरेका शर्मा अमरदीप सापकोटाको निर्देशनमा बन्ने नयाँ फिल्ममा प्रमुख अभिनेतामा अनुबन्धित भएका छन् ।
रघुजी फिल्मस्को ब्यानरमा चलचित्र पत्रकार रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्मका लागि शर्मा बुधबार अनुबन्धित भएका हुन् । नाम घोषणा नगरिएको सो फिल्म कमेडी जनराको हुने बताइएको छ ।

गायक,अब नायक पशुपति शर्मा ।
भदौबाट छायांकन सुरु गरिने फिल्ममा अन्य दुई चर्चित पुरुष पात्र पनि मुख्य भूमिकामा देखिने जानकारी प्राप्त भएको छ । तर उनीहरु को हुन् ? नारी कलाकार को को हुनेछन्,त्यो भने खुलासा गरिएको छैन । मुख्य कलाकार,प्राबिधिकको चयन कार्य सकिएको भए पनि हाललाई गोप्य राखिएको छ ।
गायक शर्मा यो फिल्मप्रति निकै उत्साहीत छन् । पहिलोपटक अभिनेताको रुपमा प्रस्तुत हुन लागेका उनी फिल्मको स्क्रिप्ट र टिम देखेर ‘ओक्के’ भएका हुन् । फिल्ममा उनको गीत पनि रहने छ कि ? यो पनि गोप्य राखिएको छ ।

लेखक,निर्देशक–अमरदीप सापकोटा ।
काठमाडौंको सेरोफेरोमा खिचिने फिल्मका निर्देशक अमरदीप उनै हुन्, जसले केही बर्षअघि ‘कारखाना’ फिल्म निर्देशन गरेर तारिफ बटुलेका थिए । अमरदीपले ‘जय श्री दाम’ लगायत थुप्रै फिल्मको स्क्रिप्ट लेखन तथा कन्सल्टेन्टको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।