सिनेमाटोग्राफर निरजको प्रश्न–नेफ्टाको निर्वाचन कहिले हुन्छ ?

0 Shares

काठमाडौं ।  

अमेरिका जाने चाहनामा नेफ्टाको पदाधिकारी बनेको र त्यसपछि केही काम नगरेको भन्दै नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) का सदस्य रुष्ट भएका छन् ।

कार्यकाल सकिएको तीन महिना बितिसक्दा पनि निर्वाचन मिति घोषणा नगरिएकोमा नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) का सदस्य,सिनेमाटोग्राफर निरज कँडेलले असन्तुष्टि ब्यक्त गरेका छन् । उनले चलचित्र प्राबिधिक संघको चुनाव कहिले हुन्छ ? भनेर बुधबार फेसबुकमा आक्रोषपूर्ण स्टाटस पोस्ट गरेका छन् ।


निरजले लोभीपापी पदाधिकारी हटाएर संस्थालाई निकास दिनुपर्ने सुझाव दिएका छन् । उनले लेखेका छन्–हेलो नेफ्टा ! अमेरिका जाने चाहनामा नेफ्टाको पदाधिकारी बन्नुहुने महानुभावहरु अमेरिका जान नपाए के अब नेफ्टालाई यत्तिकै सिध्याउने हो ? कि चुनाव गरेर लोभीपापी पदाधिकारी हटाएर संस्थालाई निकाशा दिने हो ? दुई चार जनाको स्वार्थको लागि यत्रो गरिमा बोकेको संस्थालाई बिजोग बनाउन मिल्छ ? चुनाव कहिले हुन्छ ?

नेफ्टाको अधिवेशनले ०७९ फागुन ११ गते पुष्कर लामालाई तेश्रो कार्यकालका लागि निर्विरोध अध्यक्षमा चयन गरेको थियो । लामाको तीन बर्षीय कार्यकाल ०८२ फागुन १० मा पूरा भइसकेको छ । तर नेफ्टाले अहिलेसम्म निर्वाचनको मिति तय गर्न सकेको छैन ।

नेफ्टाले हरेक बर्ष फिल्म अवार्ड आयोजना गर्दै आइरहेकोमा पछिल्लो कार्यकालमा एउटा पनि अवार्ड आयोजना गर्न सकेन । सन् २०२३ मा अमेरिकामा अवार्ड गर्ने घोषणा गरिएको भए पनि विवादमा परेपछि रोकिएको थियो ।

नेफ्टाका सदस्यहरुले नै नेफ्टाले अमेरिकाको ग्रीनकार्ड बनाउन पदाधिकारी,प्राबिधिकहरुलाई सिफारिस गरिदिने बाहेक अन्य ठोस उपलब्धीमुलक कार्य गर्न नसकेको आरोप लगाउदै आएका छन् । प्राबिधिकहरुलाई दुखबिमार पर्दा नेफ्टा अध्यक्ष लामा चाहिँ अग्रपंक्तिमा भेटिने गर्दछन् । तर पछिल्लो कार्यकालमा उनले उल्लेखनीय कार्य गर्न नसकेको आरोप लाग्दै आएको छ ।

नेफ्टा सदस्य निरजको स्टाटसमा अन्य प्राबिधिक सदस्यले पनि साथ दिएका छन् । त्यसकारण अब नेफ्टा कसरी अघि बढ्छ, त्यो भने हेर्न बाँकी छ ।

 

सम्बन्धित समाचारसबै