कस्तो चलिराछन् ‘काजी’ र ‘मितज्यू’ ?

0 Shares

काठमाडौं ।

घट्दो शोले गाह्रो पार्दैछ,यद्यपी ४ दिनको लगातार बिदामा पिकअप लेला कि !

गत शुक्रबार अर्थात् ८ जेठबाट एकसाथ प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ ले अपेक्षाकृत ब्याबसाय गर्न सकेका छैनन् । सुपरस्टार कलाकार,चर्चित मेकर,निर्देशकले निर्माण गरेको फिल्म भए तापनि दर्शकले खासै रुचि देखाएका छैनन् ।
तसर्थ,दुवै फिल्मलाई हरेक दिन सकस हुदै गइरहेको छ । ‘काजी’ को तुलनामा ब्यापारको हिसावले ‘मितज्यू’ करिब डबलले माथि छ । तर, प्रयाप्त भने होइन । यसअघि ‘घरज्वाईँ’ बनाएर ब्याबसायिक सफलताको स्वाद चाखिसकेका निर्देशक अनिल बुढामगरले ‘मितज्यू’ बाट उक्त साख जोगाउन हम्मे पर्ने देखिएको छ । दयाहाङ राई, सौगात मल्ल,तेरिया मगरजस्ता चर्चित कलाकारले अभिनय गरेको भए तापनि यसपालि खै किन हो,दर्शक स्टारका फिल्ममा झुम्मिएको देखिएन ।

उता, बिपीन कार्की,केकी अधिकारी अभिनीत ‘काजी’ को अबस्था झन् नाजुक छ । फिल्मले औसत प्रतिक्रिया पाइरहेको छ । यद्यपी,शो संख्या र ब्यापार भने दिनानुदिन घट्दै गइरहेको देखिएको छ । ‘मितज्यू’ ले भने दर्शकबाट खासै अब्बल प्रतिक्रिया पाएको छैन । क्युएफएक्स च्यानलले काठमाडौं उपत्यकाका हलमा मंगलबारको लागि ‘काजी’ को ६ शो र ‘मितज्यू’ को ७ शो मात्र दिएको छ ।

बैशाख २५ गतेबाट प्रदर्शनमा आएको ‘लालीबजार’ को भने यो च्यानल हलमा १४ शो बाँकी रहेको छ । यसहिसावले तीन साता अघि प्रदर्शनमा आएको ‘लालीबजार’ ‘मितज्यू’ र ‘काजी’ माथि भारी परेको छ । यद्यपी,१४ जेठ अर्थात्,बिहीबारबाट लगातार ४ दिन सरकारी बिदा परेकाले सो बिदामा आफूहरुको फिल्मले ‘पिकअप’ लिने आशा दुई फिल्मका निर्माताको छ ।
‘काजी’ लक्ष्मण रिजालको निर्देशनमा रामप्रसाद रिजालले निर्माण गरेका हुन् भने ‘मितज्यू’ अनिल बुढामगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेका हुन् । दयाहाङ,सौगात,बिपीनजस्ता सुपरस्टार अभिनेताहरुको फिल्मप्रति दर्शकको मोह घटेको पाइदा पूरा चलचित्र उद्योग नै चिन्ताग्रस्त देखिन्छ ।

सम्बन्धित समाचारसबै