काठमाडौं,०६ जेठ ।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले बिश्वज्योति हल पुगेर ‘बिगुल’ फिल्म हेरेका छन् । राजधानीमा मंगलबार आयोजीत बिशेष शोमा पूर्वराष्ट्रपति डा. यादव पहिलोपटक सहभागी भइ पूरा फिल्म हेरेका हुन् ।
नेपाली समाजमा मौलाउँदै गएको भ्रष्टाचार,राजनीतिक विकृति, प्रशासनिक बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाएको ‘बिगुल’ को बिशेष शोमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,नेपाली काग्रेस सभापति गगन थापा,पूर्वमन्त्री पूर्वमन्त्री डा.प्रकाश शरण महत,प्रदिप पौडेल,महामन्त्री गुरु घिमीेरे,सांसद अर्जुननरसिंह केसीलगायतका बिशिष्ट ब्यक्तिहरु उपस्थित थिए ।
पूर्वराष्ट्रपति डा.यादवले यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरिएको ‘बिगुल’ ले समाज परिवर्तनका लागि प्रभावकारी माध्यम बन्न सक्ने विश्वास धारणा राखे । पूर्वप्रधानमन्त्री नेपालले आफू धेरै समयपछि हलमा गएर नेपाली फिल्म हेरेको उल्लेख स्मरण गर्दै फिल्म निकै उत्कृष्ट, यथार्थवादी र सन्देशमूलक लागेको प्रतिक्रिया ब्यक्त गरे ।

काग्रेस सभापति थापाले ‘बिगुल’ लाई परिवर्तनको ऐना भएको बताउदै यो फिल्मले युवा पुस्तालाई सोच्न बाध्य बनाउने र समाज रुपान्तरणको अभियानलाई थप बल पुर्याउने बिश्वास ब्यक्त गरे । ‘यो केवल मनोरञ्जनका लागि बनेको फिल्म होइन, देशको यथार्थ बोल्ने चलचित्र हो,’ उनले भने ।

जेन्जी आन्दोलनको माहोल बन्नुअघि नै निर्माण गरिएको फिल्मले देखाएको राजनीतिक अस्थिरता, राज्य संयन्त्रभित्रको अव्यवस्था र जनआक्रोशले अहिलेको नेपालको अवस्थासँग आश्चर्यजनक समानता देखाएको दर्शकहरूको प्रतिक्रिया थियो ।
धेरैले यसलाई ‘समयभन्दा अगाडि बनेको चेतनाको आवाज’ भनेर टिप्पणी गरेका छन्। उनीहरुले ‘बिगुल’ लाई नेपालको वर्तमान अवस्थाको निर्भीक र यथार्थ चित्रण गर्ने साहसी फिल्मका रूपमा व्याख्या गरें । फिल्मले समाजमा जरा गाडेर बसेको भ्रष्टाचार, राजनीतिक स्वार्थ, प्रशासनिक विकृति र जनताले भोगिरहेका पीडालाई स्पष्ट रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए ।

विशेष प्रदर्शनमा सहभागी बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूले पनि ‘बिगुल’ नयाँ बहस सिर्जना गर्ने फिल्म भएको बताए। अहिलेको पुस्ताले खोजिरहेको यथार्थवादी सिनेमा ‘बिगुल’ भएको प्रतिक्रिया धेरैले दिएका थिए । दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ रमेश कोइरालाको निर्देशनमा बनेको हो ।
कथाकार तथा निर्माता कोइरालाले समाज परिवर्तनको उद्देश्यसहित फिल्म निर्माण गरिएको बताए । ‘बिगुल’ कुनै व्यक्ति वा दलविरुद्ध नभई देशमा मौलाएको विकृति,अन्याय र भ्रष्ट प्रवृत्द्धतिबिरुद्ध उठाइएको कलात्मक आवाज हो,’ उनी भन्छन्, ‘‘बिगुल’ ले फिल्मको रुपमा आजको नेपालको अनुहार प्रष्ट देखाएको छ,’ उनले बताए।

जुन २६ देखि अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गर्न लागिएको फिल्म नेपालमा पुनः रिलिजको तयारी गरिएको छ । यो फिल्म २१ फागुनको निर्वाचन भन्दा करिब तीन साता अघि अर्थात् १ फागुनमा प्रदर्शनमा आएको थियो । राजनीतिक माहौल र बिषयबस्तुको प्रभावका कारण चौथो दिनमा फिल्म प्रदर्शन स्थतीत गरिएको थियो ।
फिल्ममा बेनीशा हमाल,नरेन खड्का,जेएन घिमीरे,हेमन्त बुढाथोकी,बिनोद न्यौपाने,मिरा पण्डित,मान्सी शर्मा,रबिन्द्र खड्कालगायतका कलाकारले अभिनय गरेका छन् । केही समयपछि पुन देशब्यापी प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।