काठमाडौं,०४ जेठ ।
चलचित्र निर्देशक समाजको चुनाव ५ जेठमा राजधानीमा हुदैछ । समाजको १८ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ ।समाजको नयाँ अध्यक्षका लागि अहिलेसम्म ५ जना निर्देशकले उम्मेदवारी घोषणा गरेका छन् ।





समाजको दोश्रो पटक नेतृत्व गर्ने उत्कट चाहना देखाएका छन् वर्तमान अध्यक्ष जनकदीप पराजुलीले । उनले आफूले पहिलो कार्यकालमा सुरु गरेका केही कामहरु गर्न समय लाग्ने भएकाले दोश्रो कार्यकालको इच्छा ब्यक्त गरेको उल्लेख गरेका छन् । त्यसैगरी,अध्यक्षका अर्का प्रत्याक्षी छन्,वर्तमान महासचिव अरुणकुमार प्रधान । प्रधानले आफूले महासचिव हुदा गरेका कार्यहरुलाई अझ स्पष्ट ढंगले ब्यबस्थित गरि निर्देशकहरुको हकहित र स्तरोन्नतीका लािग कार्य गर्न आफू अध्यक्ष बन्न चाहेको बताएका छन् ।
अध्यक्षकी अर्की दावेदार छिन्,सुचित्रा श्रेष्ठ । सुचित्रा समाजकी पूर्व अध्यक्ष हुन् । उनले पनि निर्देशकहरुको हकहित र अधिकारको लागि लड्नका लागि पुनः एकपटक आफू अध्यक्ष बन्न जरुरी भएको बताउने गरेकी छिन् ।

सिनेमाबृत्तमा उल्लेखित तीन निर्देशकहरु प्रमुख प्रतिस्पर्धी देखिएका छन्,जो समाजको कार्यकारिणी समितिमा रहीसकेका छन् । यीबाहेक दुई निर्देशक–जनककराज खकुरेल (जेके मास्टर) र राजु गिरीले पनि अध्यक्ष पदको दावेदारी प्रस्तुत गरेका छन् । उनीहरु दुवैको एजेन्डा लगभग मिल्दोजुल्दो छन् । जनकराजले ‘चाकडी र चाप्लुसीलाई त्यागौं,काम गर्ने जाँगरलाई जिताऔं’ भन्ने नारा बनाएका छन् । उनले अध्यक्षको काम बोल्नुपर्ने,निस्वार्थ सेवा गर्नेुपर्ने लगायतका सहनारा पनि उल्लेख गरेका छन् ।
राजु गिरीले आफू अनुभवी,समर्पित र परिवर्तनको पक्षधर भएको दावी गर्दै उम्मेदवारी घोषणा पत्रमा निर्देशकहरुको हकहितको संरक्षण र सशक्त आवाज उठाउने,चलचित्र क्षेत्रको विकास,प्रवद्र्धन र अन्तराष्ट्रियकरण,पारदर्शी,जवाफदेही र समावेशी नेतृत्वका साथै नवोदित निर्देशकलाई प्रोत्साहन र अवसरजस्ता एजेन्डा उल्लेख गरेका छन् ।
मतदाता निर्देशकहरुसँग जनकदीप,अरुणकुमार र सुचित्राले भोट मागिरहेको भए तापनि जनकराज र राजुले भने ‘त्यो कष्ट’ गरेको देखिएको छैन,उनीहरु मैदानमा उत्रने सम्भावना निकै कम देखिएको छ । कतिपयले उनीहरु फेसबुकमा मात्रै उठेको दावी गर्दै आइरहेका छन् । राजु भने आफू साँच्चै उठेको,भित्रभित्र तयारी गरिरहेको जिकिर गर्छन् । तर उनको जिकिर पत्याउने प्रयाप्त आधार भने देखिदैन ।जनकदीप आफू कुनै गुट,उपगुटको पक्षधर नभएकाले प्यानल बनाएर मैदानमा उत्रने मनसायमा नरहेको बताउने गरेका छन् । अरुणकुमारले भने उपाध्यक्षमा सुभाष गजुरेल र दीपक वली,महासचिवमा समुन्द्र भट्ट,सचिवमा राजबहादुर साने,कोषाध्यक्षमा उत्सव केसी,सहकोषाध्यक्षमा भीम लामा तथा सदस्यमा लक्ष्मण सुनार,यम शेर्पालगायतको प्यानल घोषणा गरेका छन् ।

महासचिवमा भने समुन्द्र भट्ट,कमल एक्लै मगर र जनक खड्काले दावीदारी प्रस्तुत गरेका छन् ।


०००