काठमाडौं / समाजीक बिषयबस्तुको फिल्म ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । रमेश कोइरालाको निर्देशनमा बनेको फिल्मको चितवन सेड्युल अन्तिम चरणमा पुगेको छ । केही दिनमा टिम काठमाडौं फर्कने र बाँकी सिन र दुई गीत उपत्यका आसपासमा खिच्ने योजना बताइएको छ ।

चितवनमा अधिक गर्मी बढेता पनि सुटिङलाई भने खासै असर नगरेको अनुभव निर्देशक कोइरालाको छ । ‘उत्पात गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ उनी भन्छन्,‘टिमका सबै साथीहरुको जोशजाँगर उत्साहका कारण हामीले अहसज महसुस गर्नुपरेको छैन ।’ दिनेश कोइरालाको कथा रहेको फिल्मको प्रस्तुतकर्ता कल्पना पौडेल हुन ।

अक्षय तृतियाको दिन अर्थात् १७ बैशाखमा कोटेश्वर महादेव मन्दिरमा शुभ मुर्हत गरिएको फिल्मको छायांकन भने बैशाख अन्तिमबाट थालिएको थियो । बेनीशा हमाल,नरेन खड्का,बिनोद न्यौपाने,नीर शाह,रबिन्द्र खड्का,रमेश बुढाथोकी,गीता अधिकारी,सरोज खनाल,शिसिर वाङ्देल,इश्वरी बराल,बालकलाकार श्रीयान्शी थपलीयालगायतका साथमा नव अभिनेत्री मिरा पण्डित मुख्य भूमिकामा रहेको फिल्मले मनोरञ्जनका साथमा समाजीक सन्देश समेत प्रस्तुत गर्ने बताइन्छ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा महेश कोइराला र सूर्यकान्त कोइराला निर्माता रहेको फिल्मका गीतमा कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ ।

शिब ढकालको छायांकन रहेको फिल्मका गीतको कोरियोग्राफी कमल राई र कविराज गहतराजले गर्नेछन् भने एनवी महर्जनको द्वन्द्व निर्देशन,मौनता श्रेष्ठको पटकथा,श्याम केसीको निर्माण ब्यबस्थापन रहेकोछ । ‘बिगुल’ ०८२ साल भित्रै दर्शकमाझ ल्याउने योजना बनाइएको छ ।