बिक्रमको ‘कामा’ बेलायतको ११ औं नेशनल फिल्म अवार्डमा मनोनीत,भोट गर्न आग्रह

0 Shares

काठमाडौं,१२ जेठ । 
नेपाली अभिनेता,निर्माता बिक्रम डि.जोशीले निर्माण गरेको अंग्रेजी फिल्म ‘कामा’ बेलायतको ११ औं नेशनल फिल्म अवार्डस्–२०२५ मा मनोनीत भएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका निर्माता जोशीको ‘कामा’ वेस्ट इन्डिपेन्डेन्ट फिल्म क्याटागोरीमा मनोनित भएको हो ।

सो बिधामा ‘कामा’ सँगै ‘ट्रेडिङ वाटर’,‘डिमाइस’,‘बिफोर निक्काहा’,‘ल्याला’,‘ब्ल्याक क्याव’,‘फोर मर्दस्’,‘अ ब्रदर्स बोन्ड’,‘डोन्ट टर्न आउट दि लाइटस्’,‘कुक्सटर–द डार्केष्ट डेज’ र ‘रेपुटेशन’ नामका ब्रिटिश फिल्महरु प्रतिस्पर्धामा छन् ।

नेशनल फिल्म एकेडेमी,बेलायतले १९ मेमा २०२५ को नेशनल फिल्म अवार्डस्को नोमिनेशन सार्वजनीक गर्दै सर्वसाधारणका लागि १९ जुन अर्थात एक महिनासम्म पब्लिक भोटिङ खुल्ला गरिएको जनाएको छ । एकेडेमीले अवार्ड समारोह लण्डनको पोर्चेष्टर हलमा २ जुलाईमा आयोजना हुने उल्लेख गरेको छ । बिभिन्न बिधामा मनोनीत फिल्म तथा कलाकार मध्येबाट सार्वजनीक मतको आधारमा अवार्ड बिजेता घोषणा गरिने जनाइएको छ । निर्माता जोशीले युकेको नेशनल फिल्म अवार्डमा ‘कामा’ लाई मत दिइ जिताउनु हुन बिश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीलाई आव्हान गरेका छन् ।

सन् २०१५ मा स्थापीत नेशनल फिल्म एकेडेमीले आयोजना गर्ने नेशनल फिल्म अवार्डस् ब्रिटिशको उत्कृष्ट बार्षिक समारोह मध्येमा पर्दछ । सो अवार्डमा वेष्ट ब्रिटिश फिल्म,वेस्ट एक्टर, एक्ट्रेस,वेस्ट डिरेक्टर,बेस्ट स्क्रिप्ट,बेस्ट इन्डिपेन्डेन्ट फिल्म,बेस्ट न्यु कमरलगायतका बिधामा अवार्ड प्रदान गरिन्छ भने ब्रिटिश सिनेमा योगदान पुर्याएका स्रष्टालाई लाइफ टाइम अचिभ्मेन्ट अवार्डले सम्मान गरिन्छ ।

Executive Producer Bikram Joshi & Producer Hiral Joshi

गत मार्च दोश्रो साता बेलायतका थुप्रै शहरमा प्रदर्शन भएको ‘कामा’ सस्पेन्स क्राइम जनराको फिल्म हो । सार्वजनीक प्रदर्शनमा दर्शकको मन जितेको फिल्मको निर्देशन भीमसेन लामाले गरेका हुन् । स्व.बिशारद बस्नेतको कथा अनि लक्ष्मण सुवेदी,बिक्रम जोशी र हिराल जोशीको पटकथा,सम्वाद रहेको ‘कामा’ ले यसअघि केही अन्तराष्ट्रिय फेष्टिभलहरुमा अवार्डहरु जितिसकेको छ भने केही अवार्डमा मनोनित भएको फिल्ममा नेपाली अभिनेता टंक धमला,समीर गुरुङ,भारतीय अभिनेत्री पूजा गुप्ता,ब्रिटिश अभिनेता म्याथ्यु वेवफोर्ड,जेमिमा टोम्स,मिया बेनेटलगायतका कलाकार मुख्य भूमिकामा छन् ।

बिक्रम डि.जोशी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा हिराल जोशी छिन् । इश्वर श्रेष्ठ र एमजी अमीन सहनिर्माता रहेको ‘कामा’ को सम्पूर्ण छायांकन बेलायतमा गरिएको हो । यसअघि ‘ह्याप्पी डेज’,‘पासवर्ड’,‘हेलो जिन्दगी’,‘राधा’ लगायतका फिल्म निर्माण तथा अभिनय गरेका जोशी ‘कामा’ को अन्तराष्ट्रिय ख्यातीप्रति पुलकीत छन् । ‘कामा’ लाई छिट्टै अन्य देशहरुमा प्रदर्शन गर्ने तथा ‘बिक्रम’ नामक नयाँ नेपाली फिल्म निर्माण गर्ने तयारी उनको छ ।

यो लिंक खोलेर ‘कामा’ लाई भोट गर्न सकिन्छ ।

https://nationalfilmacademy.com/

 

 

 

सम्बन्धित समाचारसबै