काठमाडौं,०५ बैशाख
निर्देशक रमेश कोइरालाको फिल्म ‘बिगुल’ एउटा गीतमा काँग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले संगीत दिएका छन् । समसामयिक सामाजीक तथा राजनीतिक बिषयमा निर्माण हुन लागेको फिल्मको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत गत बुधबार अनामनगरस्थिति सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो । चर्चित गायक राजेश पायल राईले गाएको सो गीतको शब्द पनि नेता शर्माकै हो ।

‘महामन्त्री शर्माले निकै सान्दर्भीक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने,‘‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ । कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने बिश्वप्रकाश दाईको शब्द,संगीत निकै सुन्दर छन् । ’ मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताको बिषयमा चेतना जागृत गर्ने बिषयको फिल्म भएकाले महामन्त्री शर्माले शब्द,संगीत सृजना गर्नुभएको निर्देशक कोइरालाले बताए ।

म्याग्नेलिया ग्रुप प्रालिको ब्यानर र कल्पना पौडेलको प्रस्तुति रहेको ‘बिगुल’ मा नरेन खड्का,बेनिशा हमाल,रमेश बुढाथोकी,गीता अधिकारी,सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् । शिब ढकालले खिच्ने फिल्मको कथा दिनेश कोइरालाको हो भने पटकथा,संवाद मौनता श्रेष्ठले लेखेका छन् । बैशाख तेश्रो साताबाट सुटिङ सुरु हुने फिल्मका गीतमा बिश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्म को निर्माण ब्यबस्थापकमा श्याम केसी छन् । चितवनका बिभिन्न स्थानमा खिचिने ‘बि गुल’ लाई एक बिचार,आवाज र एक बैचारिक क्रान्तिको संकेतका रुपमा अथ्र्याइएको छ ।