काठमाडौं । ०३ कार्तिक ।
प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–०२४ को आयोजना मिति हेरफेर गरिएको छ । अमेरिकाको सनफ्रान्सिस्को,क्यालिफोर्नियामा १६ नोभेम्बरमा हुने तयारीमा रहेको अवार्ड अब २१ डिसेम्बर–०२४ मा आयोजना गरिने भएको छ ।
अवार्डका नेपाल संयोजक सुनील कटुवालद्वारा जारी बिज्ञप्तीमा अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ख्याल राखी सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको अवार्डको मिति करिब एक महिना पछि सारिएको उल्लेख छ । बिज्ञप्तीमा ‘आसन्न अमेरिकी राष्ट्रपति निर्वाचनका कारण अवार्डमा सहभागी हुने अमेरिकी तथा नेपाली पाहुनाहरुको आवागमन तथा सुरक्षा सहजताको ख्याल गरि कार्यक्रम केही साता पर सारिएको’ उल्लेख छ ।

नयाँ तालिका अनुसार मुख्य अवार्ड समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम,४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुनेछ भने २२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कला,संस्कृति,भेषभेषा झल्कने झाँकीसहित–प्रभातफेरी–नेपाल डे परेड आयोजना गरिने छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीहरुसँग मिट एण्ड ग्रिट क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्तीमा छ ।

०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरु समाबेश गरिएको अवार्डमा झण्डै डेढ दर्जन बिधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक बिशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मान गरिने छ । अवार्डमा सहभागी हुन नेपालबाट तीन दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्ने छन् भने अमेरिकामै रहेका चलचित्रकर्मीहरुको समेत बाक्लो उपस्थिति रहने छ । अवार्डको जुरीमा नेपालबाट बरिष्ट अभिनेता शिब श्रेष्ठ,बरिष्ट अभिनेता सुनील थापा,चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,बरिष्ट छायाँकार गौरीशंकर धूजु श्रेष्ठ,अभिनेता सुनील कटुवाल र बरिष्ट चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन् । कार्यक्रमको अफिसियल होस्टमा नरेश भट्टराई छन् ।

अवार्डलाई निकै भब्य र ऐतिहासिक रुपमा आयोजना गर्ने तयारी अमेरिकास्थित प्रमुख आयोजक हिमालय फाउन्डेसन कर्प,गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया,लाइटे ल अफिस,सोम्नामे ग्रुप एलएलसी (यति रेष्टुरेन्ट),राजपुत ग्रुप एलएलसी,पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हवले गरेका छन् । नेपाली कलाकार,चलचित्र तथा नेपाली कलासंस्कृतिको प्रवद्र्धनमा यो अवार्डले अमूल्य टेवा पुर्याउने बिश्वास आफूहरुले लिएको बिज्ञप्तीमा उल्लेख छ । निकै तयारीका साथ पहिलो पटक आयोजना हुन लागेको यो अवार्डलाई नेपाली चलचित्र क्षेत्रमा निकै महत्वका साथ हेरिएको छ ।