
काठमाडौं ।
प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको टाइटल स्पोन्सर सनफ्रान्सिस्कोस्थित हिमालयन हवका प्रमुख राम श्रेष्ठ र पार्वती श्रेष्ठले गर्ने भएका छन् । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) आयोजना हुने अवार्डलाई अहिलेसम्मकै स्मरणीय र ऐतिहासिक बनाउने प्रयत्न स्वरुप टाइटल स्पोन्सरका रुपमा श्रेष्ठ दम्पत्ति जोडिएको जानकारी आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठ दिएका छन ।
श्रेष्ठ दम्पती
बिश्वबजारमा नेपाली चलचित्र,कलासंस्कृति तथा नेपाली कलाकर्मीको दरिलो उपस्थिति र बजार प्रबद्र्धन गर्नका लागि यो अवार्ड निकै सहयोगी हुने बिश्वास आयोजक संस्थाको छ । टाइटल स्पोन्सर श्रेष्ठ दम्पतीले आफूहरु नेपाली चलचित्र,भाषासंस्कृति तथा नेपाली कलाकारप्रति निकै श्रद्धावान भएकाले सहभागी हुन लागेको बताएका छन् । सिन्धुपाल्चोकबाट केही बर्षअघि अमेरिका पुगेका श्रेष्ठ दम्पती सनफ्रान्सिसकोमा चर्चित र सफल ब्याबसायीका रुपमा परिचित छन । नोभेम्बर १५ बाट संचालनमा आउने हिमालयन हबको उद्घाटन चर्चित नेपाली सेलीब्रेटीहरुबाट गरिदैछ । यस अवार्डमा जोडिन पाउदा निकै खुशी लागेको उनीहरुले बताएका छन् ।
०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुबीच हुने प्रतिस्पर्धात्मक अवार्डमा एक बरिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डले सम्मान गरिने छ भने जुरी मेन्सन अवार्ड,पपुलर अवार्ड तथा क्रिटिक्स अवार्डको बिधा समेत समाबेश गरिएको छ । अवार्डको सहआयोजकमा अमेरिकास्थित लेइट ल अफिसका प्रमुख रबि सिंह बस्नेत,सोनामी एलएलसीका प्रमुख नारायण सोनामी,राजपुत एलएलसीका प्रमुख सुजीत सिंंह र पाण्डे रियलस्टेटका नयन पाण्डे छन् ।
बरिष्ट अभिनेता शिब श्रेष्ठ,खलअभिनेता सुनील थापा,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,बरिष्ट छाँयाकार गौरीशंकर धूजु, अभिनेता सुनील कटवाल,पत्रकार,फिल्म निर्देशक लक्ष्मण सुवेदी तथा दीपक नेपाली आयोजक कमीटीमा रहेको अवार्डको अफिसियल एमसी नरेश भट्टराई हुन् ।
अवार्ड समारोहमा सहभागी हुन नेपालबाट नीर शाह,शिब श्रेष्ठ,राजेश हमाल,भुवन केसी,चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी,सुनील थापा,अनमोल केसी,दीपकराज गिरी,दीपाश्री निरौला,केकी अघिकारी,प्रदिप खड्का,दयाहाङ राई,बिपीन कार्की,केदार घिमीरे,मिरुना मगर,आँचल शर्मा,पूजा शर्मा,सुरक्षा पन्तलगायतका थुप्रै सेलिब्रेटीहरु अमेरिका जाने छन् । आयोजक संख्याले अमेरिकामै रहेका नेपाली तथा स्थानीय कलाकार तथा बिभिन्न पेशाका बिशिष्ट ब्यक्तिलाई पनि कार्यक्रममा सहभागी गराउने छ ।