
काठमाडौं ।
निर्माण क्रममै चर्चा रहेको फिल्म ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाहीको प्रबेश भएको छ । २४ भदौबाट सुटिङ सुरु गर्न लागिएको फिल्ममा यसअघिनै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित् भइसकेका थिए । लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले कथाको मागअनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट भएकाले उनलाई लिइएको जानकारी दिए ।
हिमाल कडरियाले निर्माण गर्ने ‘दुखी आत्मा’ भन्दा निर्देशक लामा र निर्माता कडरियाले निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपर हिट भएको थियो । यो उनीहरुको दोश्रो सहकार्य हो । त्यसैगरी दयाहाङ र अनुपविक्रम यसअघि ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ मा सँगै अभिनीत थिए । उनीहरुको भने यो तेश्रो सहअभिनय हो ।
काठमाडौंको सेरोफेरोमा खिचिने कमेडी जनराको फिल्ममा दयाहाङ,आँचल,अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतका कलाकारले अभिनय गर्नेछन् ।
आलोक शुक्लाले खिच्ने फिल्मका गीतमा सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहने छ । सुदीप ढकाल प्रोडक्शन म्यानेजर रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्ने छ । फिल्म यसै बर्ष दर्शकमाझ ल्याउने तयारी निर्माताको छ ।