मच्छेगाउँमा भदौ १४ र १५ गते राष्ट्रिय लाखे नाच महोत्सव

0 Shares

काठमाडौं ।
नेपाल सांस्कृतिक कला मन्दिर,मच्छेगाउँले यसपालीको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ मा गर्ने भएको छ । चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा हरेक बर्ष गरिदै आएको राष्ट्रिय लाखे नाच प्रदर्शनी बारे सोमबार थानकोटमा प्रेसमिट गरि जानकारी दिइएको हो ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू,जनप्रतिनिधिहरू एवं नेपाल सांस्कृतिक कला मन्दिरका सल्लाहकारहरु कृष्णभगत श्रेष्ठ, वीरकृष्ण शाही, बुद्धरत्न श्रेष्ठ, बलराम थापा लगायतको उपस्थितिमा लाखे नाच महोत्सवको ब्यानर सार्वजनीक गरि महोत्सवको औपचारिक प्रशारप्रसार सुरु भएको बताइएको थियो । मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला संस्कृति एकै  स्थानमा देख्न,हेर्न पाइनुका साथै यसले सस्कृति जगर्नेमा समेत ठूलो टेवा पुर्याएको धारणा राखे । उनले युवा पुस्तामा पनि आफ्नो संस्कृति,परम्परा र मौलिकता उजागर गर्न यो महोत्सवले ठूलो सन्देश दिएको बताए ।

आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले यसपालीको लाखे नाच प्रदर्शनीमा ४५ वटा जिल्लाका सहभागीहरू उपस्थित हुने जानकारी दिए । उनले
गतवर्ष ६० भन्दा धेरै लाखे नाच प्रदर्शनी भएको स्मरण गराए । यसपटकको प्रदर्शनीको नारा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ राखिएको छ । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक संस्थाले बताएको छ । समारोहमा सांस्कृति क्षेत्रमा योग्दान पुर्याएका कलाकर्मीहरुलाई सम्मान गरिने गर्दछ । यसपाली पनि सो क्रम निरन्तर रहेको बताइएको छ ।

सम्बन्धित समाचारसबै