चलचित्र पत्रकार संघको रजत जयन्तीमा सम्मान तथा पुरस्कार प्रदान

0 Shares

काठमाडौं ।  
चलचित्र पत्रकार संघ नेपालले सोमबार राजधानीमा भब्य समारोह आयोजना गरि आफ्नो २५ औंं स्थापना दिवसलाई रजत जयन्तीका रुपमा मनाएको छ । हरेक बर्ष जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाउदै आएको संघले यसपालि पनि चलचित्र पत्रकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

रजत जयन्ती भएकाले संघले बरिष्ट चलचित्र पत्रकार तथा संघका पूर्वअध्यक्ष बिदुर गिरीलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको चलचित्र पत्रकारिता रजत सम्मानबाट सम्मानीत गर्यो । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यामा सम्पन्न समारोहमा चलचित्र पत्रकारिताका बिबिध आयामबारे चर्चा गरिएको थियो ।

चलचित्र बिकास बोर्ड अध्यक्ष भुवन केसीलगायत बिभिन्न चलचित्रकर्मी तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा जनही ५१ हजार राशीसहित न्युज २४ टिभीका चलचित्र पत्रकार सुरज खड्का र स्वतन्त्र चलचित्र पत्रकार अशेष अधिकारीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरियो । पत्रकार अशेषले आफूले पुरस्कार पाएको मध्येबाछ २५ हजार रुपैयाँ संघको कल्याणकारी कोषलाई हस्तान्तरण गर्ने घोषणा गरे । यसैगरी यसपटक राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट कलाकर्मी डटकमका पत्रकार कृष्ण भट्टराई र न्युज २४ टिभीमा कार्यरत पत्रकार राज श्रेष्ठलाई सम्मान गरियो ।

 

दाङमा रहेर सक्रियताका साथ चलचित्र पत्रकारिता गर्दै आएका शिब पुन यसपटक नगद २५ हजार राशीको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । नगद २५ हजार राशीको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार एमएमनेपाल डटकमका चर्चित पत्रकार मदन रिजालले प्राप्त गरे । त्यसैगरी, संघको रजत बर्षको अबसरमा लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सिधा खबरका सम्पादक,मकवानपुरका चलचित्र पत्रकार मणिराज गौतम, ब्युटी न्युज नेपालकी चलचित्र पत्रकार जयन सुब्बा मानन्धर, नारी टिभीका रञ्जन खनाल, नेपाल लाईभका डिबी खड्का, शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी र दीपक बिष्टलाई सम्मानीत गरियो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री महासेठले आफुले बाल्यकालमा जानकी मन्दिरको प्राङ्गनमा पहिलो नेपाली चलचित्र ‘आमा’ हेरेको स्मरण गर्दै नेपाली चलचित्र अहिले निकै सम्पन्न भईसकेको धारणा राखे । उनले चलचित्र पत्रकारहरुलाई शुभकामना दिँदै सिनेकर्मीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।


चलचित्र उधोगको बिस्तार र प्रवर्धनमा चलचित्र पत्रकारहरुको निकै महत्वपूर्ण योगदान रहेको बताउदै बोर्ड अध्यक्ष भुवन केसीले पत्रकारबाट अझ धेरै साथसहयोगको आबश्यकता रहेको बताए । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलले आफु पनि बिगतमा चलचित्र पत्रकार भएको स्मरण गराउँदै चलचित्र पत्रकार संघले आफूलाई मानार्थ सदस्यता दिएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा उनले चलचित्र कल्याणकारी कोषमा १ करोड रुपैयाँ सहयोग गर्न उपप्रधान मन्त्री महासेठसँग आग्रह गरे ।

समारोहमा संघका अध्यक्ष समीर बलामीले अग्रज चलचित्र पत्रकारहरुको योगदानले संघले रजत वर्ष उत्सब मनाउन सफल भएको स्मरण गराउदै चलचित्र पत्रकारहरुको हक हितका लागि आफू सदैव संघर्ष गर्ने प्रतिबद्धता जाहेर गरे । संघका पूर्व अध्यक्ष शान्तिप्रिय र बिदूर गिरीले चलचित्र पत्रकारको ब्याबसायिक उन्नतीका लागि संस्थागत रुपले अघि बढ्न आबश्यक रहेको धारणा राखे । संघका महासचिब रघुनाथ सापकोटाले सहजीकरण गरेको समारोहमा बिभिन्न नृत्यका साथमा संघका कास्की सचिब सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठले युगल स्वरमा दर्शन सलाम गीत प्रस्तुत गरेर माहौल गर्माएका थिए ।

समारोहका प्रथम अभिनेत्री नायिका भुवन चन्द, बसुन्धरा भुसाल, गायिका देवीका बन्दना,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,चलचित्र संघका बरिष्ट उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, फोनिजका अध्यक्ष गजुरधन राई,‘सतीदेवी’ अभिनेत्री मलिका महत,निर्देशक ज्ञानेन्द्र देउजा,नवल नेपाल,लक्ष्मण सुवेदी,ऋषि लामीछानेलगायत चलचित्र तथा पत्रकारिता क्षेत्रका थुप्रै ब्यक्ति उपस्थिति थिए । सोही अवसरमा संघले केक काटेर रजत वर्षको शुभकामना आदान–प्रदान गरेको थियो ।

सम्बन्धित समाचारसबै