काठमाडौं ।
भजनशिरोमणि स्व.भक्तराज आचार्यको बायोपीक फिल्म ‘आचार्य’ असार ७ गते पुनः प्रदर्शन गरिने भएको छ । भजनशिरोमणि आचार्यको ८२ बर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो । १३ बर्षअघि, ०६८ साल असोजमा पहिलोपटक रिलिज भएकोे ‘आचार्य’ यसपटक स्व.आचार्यलाई श्रद्धाञ्जली स्वरुप दर्शकमाझ ल्याउन लागीएको हो ।
प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेन्मेन्ट र बिदेशमा सेभेन सिजले प्रदर्शन गर्न लागेको जानकारी शनिबार राजधानीमा आयोजीत प्रेसमिटमा दिइएको छ ।
फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा गायक सत्यराज आचार्यले निर्वाह गरेका छन् । पहिलो पटक रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको निर्माता समेत रहेका सत्यराजले बताए । केही दिनमा फिल्मको ट्रेलर सार्वजनीक गरिने र ५ असारमा प्रिमीयर गरिने उनले बताए । फिल्ममा सत्यराजका साथमा सुनिल पोखरेल,अरुणा कार्की,दयाहाङ राई,विपिन कार्की, सौगात मल्ल लगायतका कलाकारको समेत अभिनय छ ।
अब रिलिज हुने फिल्ममा भजनशिरोमणि आचार्यका जीवनका आरोह–अबरोह,दुर्घटना,जिब्रोको क्यान्सर पछिको संघर्षदेखि लिएर स्र्वारोहणसम्मको घटनाक्रम समेटिएको बताइएको छ ।