काठमाडौं ।
चौथो सातासम्म आइपुग्दा ‘लालीबजार’ को बिहीबार बिहानसम्म शुक्रबारको लागि ९९ शो खुलेको छ भने तेश्रो सातामा ‘लाइफ ड्यामेज’ ले ४ शो,दोश्रो सातामा प्रबेश गर्दा ‘मितज्यू’ ले ४३ र ‘काजी’ १४ शोमा खुम्चनु परेको छ ।
१५ जेठबाट नेपालका हलमा थप तीन नयाँ नेपाली भाषाका फिल्म ‘रोल नं १’,‘कुम्भ’ र ‘शेप अफ मोमो’ थपीदैछन् । यीसहित ७ वटा नेपाली अनि हिन्दी र अंग्रेजी गरी जम्मा १३ फिल्म हलमा प्रदर्शन हुनेछन् । प्रदर्शनरत फिल्म मध्ये चौथो सातामा पनि ‘लालीबजार’ कै दबदवा कायम छ । ‘लालीबजार’ ले नयाँ आएका सबै स्वदेशी,बिदेशी फिल्मभन्दा बढी शो पाइरहेको छ । चौथो सातामा प्रबेश गरेको यो फिल्मको बिहीबार बिहानसम्म देशभर ९९ शो खुलेको छ । याम थापा निर्देशीत यो फिल्म २५ बैशाखबाट प्रदर्शनरत छ ।

त्यसैगरी, जेठ १ गते प्रदर्शनमा आएको निमेष श्रेष्ठ निर्देशीत ‘लाइफ ड्यामेज’ को तेश्रो सातामा आइपुग्दा शुक्रबार ४ शो बाँकी छ । जेठ ८ गतेबाट प्रदर्शनमा आएका स्टारयुक्त ‘काजी’ र ‘मितज्यू’ ले बक्स अफिसमा अपेक्षाकृत कमाल देखाउन सकेनन् । लक्ष्मण रिजाल निर्देशीत बिपीन कार्की र केकी अधिकारी अभिनीत ‘काजी’ को दोश्रो साताको शुक्रबार देशभर जम्मा १४ शो बाँकी रहेको छ ।

अनिल बुढामगर निर्देशीत जनक घर्ती मगरको,दयाहाङ राई,सौगात मल्ल,तेरिया मगरलगायतका स्टार अभिनीत ‘मितज्यू’ ले दोश्रो साताको पहिलो दिन अर्थात् शुक्रबार देशभर ४३ शो पाएको छ । साँझसम्ममा शो थप–घट हुन चाहिँ सक्छ ।

नेपाली भाषाका बाहेक अंग्रेजी फिल्महरु–‘प्यासेन्जर’,‘माइकल’,‘स्टार वार्स–द म्याडालोरिन एण्ड ग्रजु’,‘द डेभिल वार्स प्रदा २’ र दुई हिन्दी फिल्म ‘चाँद मेरा दिल’ र ‘पति पत्नी और वह दो’ प्रदर्शनमा छन् ।
बिहीबारदेखि लगातार ४ दिन बिदा रहेकाले नेपाली फिल्मका निर्माता,निर्देशकहरु आफ्नो फिल्मले ‘पिकअप’ लिने आशमा छन् । त्यहीअनुरुप प्रचारप्रशारलाई तीब्र पारिरहेका छन् । तर, बिहीबार बिहानसम्मको अकुपेन्सी हेर्दा ‘चमत्कार’ हुने सम्भावना न्युन देखिन्छ ।