काठमाडौं ।
शुक्रबारबाट प्रदर्शन हुने ‘रोल नं १’ ले देशभर ८७,‘शेप अफ मोमो’ ले २२ र ‘कुम्भ’ ले ६ शो पाएका छन् ।
शुक्रबार अर्थात् १५ जेठबाट तीन नयाँ फिल्म प्रदर्शनमा आउदैछन्–‘रोल नं १’, ‘कुम्भ’ र ‘‘शेप अफ मोमो’ । बुकिङ खुलिसकेको छ ।
ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माताले निर्माण गरेको ‘रोल नं १’ लाई प्रतिक्षित फिल्मका रुपमा हेरिएको छ । जोन योञ्जनको कथा र निर्देशन रहेको फिल्मले खल्ती एपका अनुसार बिहीबार बिहानसम्म देशभर ८७ शो पाएको छ । फिल्ममा मुकुन भुसाल,रेणु योगी,शंकर आचार्यलगायतले अभिनय गरेका छन् ।

‘कुम्भ’ ले जम्मा ६ शो पाएको छ । रन्धीर श्रेष्ठको लेखन,निर्देशन रहेको ‘कुम्भ’ ले पाएको शो नेपाली फिल्म इतिहासमै सबैभन्दा कम हो । यो भन्दा अघि गत भदौ २० गते प्रदर्शन हुने मिति तय गरिएको ‘चिठ्ठि’ फिल्मलाई हलले देशभर जम्मा ११ शो दिएको थियो । जसकारण अन्तिम समयमा निर्देशक माधव खरेलले कम शो पाएको भन्दै फिल्म रिलिज स्थगीत गरे । ‘कुम्भ’ ले चाहिँ त्यो भन्दा नि कम शो पायो ।

यद्यपी,बिहीबार रातिसम्म शो थपीन पनि सक्छ । यो फिल्मलाई देशको सबैभन्दा ठूलो चेन–क्युएफएक्सले त एक शो पनि दिएको छैन । नेपाली र हिन्दी,दुई भाषामा रिलिज गरिने प्रचार गरिएको यो फिल्ममा अशोक आर्यन,दक्षिण भारतीय फिल्मका कलाकार सुरेन्द्र ठाकुर,सुनील थापा,सुसिल पोखरेल,रोहित रुम्बा,अप्साना थापा,सृष्टि खड्कालगायतको अभिनय छ ।

बुसान इन्टरनेशनल फिल्म फेस्टिभल,सन सेबेस्टियन इन्टरनेशनललगायतका फिल्म फेस्टिभलमा प्रदर्शन भइ अवार्ड समेत जितेको ‘शेप अफ मोमो’ ले जम्मा २२ शो पाएको छ । सिक्किमकी त्रिवेणी राईको निर्देशनमा बनेको नेपाली भाषाको यो फिल्मको कार्यकारी निर्मातामा भारतीय फिल्मकर्मी जोया अख्तर,रिमा कागती र पायल कपाडीया छन् । फिल्ममा भानुमाया राई,गौमाया गुरुङ,पशुपति राई,राहुल मुखीया,श्यामाश्री शेर्पालगायतले अभिनय गरेका छन् ।