नेपालका चर्चित ६ सेलिब्रेटीहरुले अमेरिकाका बिभिन्न शहरमा आयोजना हुन लागेका मनोरञ्जनात्मक कार्यक्रमहरुमा प्रस्तुत दिने भएका छन् । चर्चित हिरोइन पूजा शर्मा, लोकगायिका सुनीता दुलाल,संगीतकार अशोक गिरी,अभिनेता तथा लोकडान्सर सुनील कटुवाल,अभिनेत्री तथा लोकडान्सर तेजकुमारी खतिवडा (तेजुला) का साथमा चर्चित कार्यक्रम प्रस्तोता नरेश भट्टराईले २१ डिसेम्बर,२०२४ मा सनफ्रान्सिस्को,क्यालिफोर्नीयामा आयोजना हुन लागेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ मा आफ्नो बेजोड प्रस्तुति दिनेछन् ।
नेपाललगायत बिश्वका थुप्रै देशमा कार्यक्रम प्रस्तोताका रुपमा आफ्नो कला देखाइसकेका प्रस्तोता भट्टराईले २१ डिसेम्बरमा आफूहरुको प्रस्तुति गोल्डेन नेपाली फिल्म अवार्डबाट सुरु हुने र त्यसपछि क्रमशः ४ जनवरी २०२५ मा क्वीन्स न्युओर्क,११ जनवरीमा आर्टेशीया लस एन्जेल्स क्यालिफोर्नीया र १८ जनवरीमा सान्ता रोजा गोल्डेन स्टेट क्यालिफोर्नीयामा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने तय भएको जानकारी दिए । २१ डिसेम्बरमा नेपालका चर्चित सेलिब्रेटीहरुका साथमा पहिलोपटक आयोजना हुन लागेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको अफिसियल उद्घोषक समेत रहेका भट्टराईले पूर्वनिर्धारित उल्लेखित बाहेक अन्य केही कार्यक्रम पनि थपीन सक्ने जनाए । गोल्डेन नेपाली फिल्म अवार्डको आयोजक हिमालय फाउन्डेसन कर्प,गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया,लाइटे ल अफिस,सोम्नामे ग्रुप एलएलसी (यति रेष्टुरेन्ट),राजपुत ग्रुप एलएलसी,पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हव हो । ।

गायिका सुनीता दुलालले कार्यक्रममा आफूले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने जानकारी दिइन भने लोकडान्सर तथा अभिनेता सुनील कटुवालले आफू झण्डै आधा दर्जन गीतमा डान्स गर्ने बताए । देशबिदेशमा आयोजना हुदै आएका बिभिन्न सांस्कृतिक कार्यक्रममा उच्च माग भएका कटुवाललाई अभिनेत्री तथा लोकडान्सर तेजकुमारी (तेजुला) खतिवडाले साथ दिनेछिन् । त्यसैगरी,संगीतकार तथा गायक अशोक गिरीेले दर्शकको मनोरञ्जनका लागि आफूले सुमधुर गीतहरु तयार गरेको बताए ।
नायिका पूजा शर्मा आफू पहिलोपटक अमेरिकामा रहेका दर्शकमाझ प्रस्तुत हुन लागेको बताउँदै आफूले भने आफ्ना चर्चित फिल्महरुका गीतमा डान्स गर्नुका साथै दर्शकहरुसँग साक्षात्कार गर्ने योजना सुनाइन् । पूजाले आफूहरुलाई अमेरिकाका अन्य थुप्रै स्थानबाट समेत कार्यक्रमका लागि निम्तो आइरहेको बताइन् । अमेरिका बसाइका क्रममा समयले भ्याएसम्म कार्यक्रमहरुमा सहभागी हुने उनको चाहना छ ।