काठमाडौं ।
सिनेमाटोग्राफर रविन आचार्यले अमेरिकामा सम्पन्न क्विन्स वर्ल्ड फिल्म फेस्टिभल–०२४ मा दुईटा सर्ट फिल्मबाट दुई अवार्ड जितेका छन् । उनले अमेरिकामा आयोजीत १३ औं संस्करणको क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा ‘रोटन ब्लड’ बाट स्पेसल मेन्सन (सिनेमाटोग्राफी) र ‘मनु’ बाट फाउन्डर च्वाइस अवार्ड प्राप्त गरेका हुन्।
यसअघि उनले खिचेको कथानक फिल्म ‘डाइङ क्याण्डल’ बाट क्विन्स वर्ल्ड फिल्म फेस्टिभल–०१६ मा उत्कृष्ट सिनेम्याटोग्राफीको अवार्ड जितेका थिए। यसपालीको फेष्टिभलमा रबिनले प्रतिस्पर्धामा रहेका सिनेमाटोग्राफीमा मार्सेल लोबेनविनको कोडा, लिओ काल्जोनीको सिएला, स्कट टी समर्सको मिरान्डा अफ माइन्ड र विलियम मुरेको द डार्क फरेस्टलाई पछि पारि अवार्ड जितेका हुन् ।
फिचर फिल्म तथा सर्ट फिल्म छायांकनमा समेत सक्रिय रबिनले पहिलो पटक ‘वधशाला’ फिल्मबाट मुख्य सहायक क्यामेराम्यानका रुपमा काम गरेका थिए । कलात्मक फिल्मले मात्रै समाजको यथार्थता उजागर गर्न सक्छ भन्ने मान्यता राख्ने उनले आफ्नै कम्पनी नेसनल मिडिया प्रोडक्सनको ब्यानरमा ‘डाइङ क्यान्डल’ निर्माण र छायांकन गरेको थिए। विधागत रूपमा थुप्रै सम्मान तथा अवार्ड पाइसकेका आचार्यले धूलो, केटिएम कक्टेल, चंगा, चक्कर, जयश्री दामलगायत फिल्म खिचेका छन् । रबिनले अस्कर कलेज अफ फिल्म स्टडिजबाट छायाङ्कन विधामा स्नातक हासिल गरेका छन् ।