काठमाडौं ।
अभिनेता जयकिसन बस्नेतले प्रदर्शोन्मुख फिल्म ‘बद्रिबहादुर: मि.संखुवासभा’ हिट नभए आफूले अभिनयबाट सन्न्यास लिने घोषणा गरेका छन् । यही शुक्रबार अर्थात् २३ चैत्रबाट एकल प्रदर्शनमा उत्रन लागेको ‘बद्रिबहादुर’ बारे जानकारी दिन बुधबार राजधानीमा आयोजीत प्रेसमिटमा जयकिसनले यो फिल्म एकदम चल्ने दावी गरेका हुन् ।
‘मेरो यसअघिको ‘धुम–४’ चलेन । तर यो फिल्म चाहिँ चल्छ । दर्शकलाई एकपटक फेरि मरिमरि हसाउन आएका छौं,’ उनले भने,‘यत्तिको रमाइलो फिल्म नि चलेन भने त के फिल्म खेल्नू..।’
कार्यक्रममा निर्देशक सोभित बस्नेतले आफ्नो तीन दशक लामो करिअरमा ‘बद्रिबहादुर’ अर्काे उत्कृष्ट फिल्म भएको दावी गरे ।
‘यो मौलिक मसालेदार फिल्म हो,मनोरञ्जनका लागि हेर्न दर्शकलाई यो फिल्म मनपर्छ,’ सोभितले भने, ‘आम नेपाली दर्शकलाई लक्षित गरिएको फिल्म हो । यसमा कमेडी,लभ,एक्शन सबै भरपुर छ ।’ फिल्ममा जयकिसनका साथमा राजीवजंग बस्नेत, छुल्ठिम गुरुङ, एलिना गुरुङ,धीरेन शाक्य,उत्तम केसी,वर्षा चौलागाईँका साथमा सोभित स्वयम् मुख्य भूमिकामा छन् । रबि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मको निर्माता मिथुन भोटे हुन् । फिल्मको एउटा गीतमा पूजा शर्मा र सलोन बस्नेत फिचर छन् ।