किन बनाइदैन खेलसम्बन्धी फिल्म ? गोलकिपर अञ्जिलाबारे चाम्सको ‘अञ्जिला’ आउदैछ ११ माघमा

0 Shares

काठमाडौं,१५ चैत्र ।
खेलकुद सम्बन्धी फिल्म नेपालमा कमै बन्ने गरेका छन् । भिडियो फिल्मलाई छोडेर फिचर फिल्मको कुरा गर्ने हो भने, झण्डै एक दशकअघि बिबि फुँयालले क्रिकेट खेलको बिषयमा ‘च्याम्पियन’ नामक फिल्म निर्देशन गरेका थिए । त्यतिबेला नेपालमा क्रिकेटको खासै क्रेज नभएको तथा दर्शकले यस बिषयमा बनेको ‘च्याम्पियन’ हेर्न रुचि नदेखाएकाले त्यो फिल्म चलेन ।

त्यसपछि फुटवल खेललाई केन्द्रमा राखेर दिवाकर भट्टराईले ‘क्याप्टेन’ फिल्म निर्देशन गरे । भुवन केसीको निर्माण अनि अनमोल केसी स्टारर ‘क्याप्टेन’ ले पनि दर्शकको मन तान्न सकेन । फिल्म हेरेका कतिपय दर्शकले निर्देशक,लेखकलाई फुटवल खेलबारे सामान्य ज्ञानसमेत नभएकोसम्मको टिप्पणी गरे । ‘क्याप्टेन’ ले निर्मातालाई त घाटा लगायो नै, नेपालमा खेलसम्बन्धी गतिलो फिल्म बन्दैन कि क्या हो ? भनेर संशय पनि पैदा गराइदियो ।
तेक्वान्डो,करातेलगायतका खेलसम्बन्धी केही फिल्म निर्माण गरिएको भए पनि गहिराइमा पुग्न नसकेको आक्षेप लगाउदै दर्शकले यस प्रकारका फिल्मलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छैन । देशको राष्ट्रिय खेल–डन्डीबियोलाई केन्द्रमा राखेर स्व. निर्देशक छेतेन गुरुङले ‘डमरुको डन्डीबियो’ निर्देशन गरेका थिए । खगेन्द्र लामीछाने र अनुप बराल मुख्य भूमिकामा रहेको सो फिल्मलाई पनि दर्शकले वाह भनेनन् । निर्मातालाई मात्र होइन, अभिनेता खगेन्द्रलाई त्यो फिल्मबाट राम्रै झड्का लाग्यो । हम्मेसी नेपालमा खेलकुदको बिषयमा फिल्म बनाउन खोजिदैन । मुख्य कारण, हाम्रोमा खेलकुदको समुचित बिकास नहुनु,खेलाडीहरु अझै स्टार बनीनसक्नु,न्यायसंगत फिल्म बनाउन नसक्नु तथा दर्शकले प्रयाप्त रुचि नदेखाउनुले ब्याबसायिकता हुन नसकेको ठोकुवा गरिन्छ ।
Director Milan Chams
केही निर्माता,निर्देशकले खेलकुदको बिषयमा फिल्म निर्माण गरे । तर, यी मध्ये एक जना यस्ता निर्देशक छन्, उनले पूर्ण ब्याबसायिक मात्रै होइन,वीर गोर्खालीको गाथा गाउदै ‘गोरखा वारिअर’ बनाए । त्यसभन्दा अघि वास्तवीक जोडीको वास्तवीक प्रेमकथामा ‘बबी’ मात्रै होइन,हौसला,प्रेरणा र जीवन जीउने कला सिकाउने दृष्टिबिहीन मोटिभेसनल स्पीकर सृष्टि केसीको संघर्ष र सफलताको कथामा बायोपीक फिल्म ‘ब्लाइन्ड रक्स’ निर्माण गरे । र, उनै निर्देशक अर्थात् बिबिध फरक फरक बिषयमा फिल्म बनाउदै आएका निर्देशक मिलन चाम्सले अर्काे एउटा बायोपीक फिल्म ‘अञ्जिला’ निर्माण गरेका छन् । महिला राष्ट्रिय फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावीत भइ निर्माण गरिएको ‘अञ्जिला’ ०८१ को माघ ११ गते प्रदर्शन हुदैछ ।
गोलकिपर एन्जिला नै मुख्य भूमिकामा रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर,सिर्जना सुब्बा,माओत्से गुरुङ,बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । प्रेमकुमार श्रेष्ठले निर्माण गरेको फिल्ममा एन्जिलाले फुटबलर बन्न गरेको बालापनदेखिको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको बताइन्छ । फिल्ममा अञ्जिलाको जीवनको करिब ७५ प्रतिशत घटनाहरु हुबहु समाबेश गरिएको निर्माण पक्षले जनाउदै आएको छ ।

सम्बन्धित समाचारसबै