चलचित्रको रंगीन दुनीयाँमा आफ्नो सुनौलो भबिष्य निर्माण गर्ने चाहना बोकेका युवा हुन्,–प्रकाश ज्ञवाली । पाल्पाका स्थायी निवासी प्रकाश चलचित्र क्षेत्रमा आफ्नो नाम प्रकाश झै उज्यालो पार्न चाहन्छन् । सानैदेखि चलचित्र हेर्न भनेपछि हुरुक्कै हुने स्वभावका प्रकाश अब भने आफू परिपक्क भइसकेको र यसलाई पेशागत रुपले अंगाल्न अघि बढेको बताउछन् ।
सकभर नेपाली चलचित्र नछुटाइ हेर्दै आएका उनी अब अटुट रुपमा चलचित्र निर्माणमा लाग्नका लागि पाइला सारिसकेको बताउछन् । उनको पहिलो पाइला हुदैछ–‘द्रौपदी’ । हो,‘द्रौपदी’ त्यही चलचित्र हो,जो निर्देशक ऋषिराज आचार्यले निर्माण गर्दैछन् । यही चलचित्रमा प्रकाशले आफूलाई निर्माताका रुपमा अघि बढाउदैछन् ।
निर्देशक ऋषिराजका साथमा बिष्णु (सुवास) थर्डराईसँग टिम मिलाएर उनले चलचित्र निर्माण गर्न लागेका हुन् । बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटलका फार्मेसी इन्चार्जका रुपमा कार्यरत प्रकाश सो हस्पिटलका एक फाउन्डर पनि हुन् । सानैदेखि इच्छा भए तापनि चलचित्रमा प्रबेश गर्ने मेसो नपाइरहेको र अहिले भने ‘द्रौपदी’ को कथाबस्तुले अत्यन्तै प्रभावित भएर निर्माताका रुपमा अघि बढ्ने निधो गरेको उनी बताउछन् ।
केही दिनमै छायांकन सुरु हुने ‘द्रौपदी’ अहिले चर्चामा छ । निर्देशक आचार्य ‘द्रौपदी’ लाई बिश्वस्तरमा पुर्याउनका लागि भरपुर तयारीका साथ फ्लोरमा जान लागेको बताउँछन् ।