काठमाडौं,३० साउन ।
अभिनेता दयाहाङ राई घर ज्वाईं बस्ने भएका छन् । उनी वास्तवीक जीवनमा नभइ नयाँ फिल्म ‘घर ज्वाईं’ मा घर ज्वाईं बस्न राजी भएका हुन् । सर्ट फिल्मको माध्यमबाट थुप्रै अन्तराष्ट्रिय पुरस्कार जितेका अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गर्ने ‘घर ज्वाईं’ फिल्ममा दयाहाङका साथ मिरुना मगरलाई पुनः दर्शकले पर्दामा जोडीका रुपमा देख्न पाउने छन् ।
क्रमशः ‘घर ज्वाईँ’ का निर्देशक अनिल,अभिनेता दयाहाङ र निर्माता जनक घर्ती मगर
माघ दोश्रो साताबाट पूर्व रुकुममा खिचिने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुरस्कर गुरुङ,राज थापा काउचालगायतका कलाकार अनुबन्धित भइसकेका छन् । मगर संस्कृतिमा आधारित फिल्मको अन्य कलाकार र प्राबिधिक छनौट क्रम केही समयमा गरिने बताइएको छ ।
जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने उनलाई पटकथा र सम्वाद लेखनमा सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशब्यापीरुपमा बितरण गर्ने छ । ‘घर ज्वाईं’ लाई लिएर अहिले सिनेबृत्तमा चर्चा सुरु भइसकेको छ ।